
पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत खस्दा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु भएको छ । घटनामा आठ जना घाइते भएका छन् भने भग्नावशेषमा थप बालबालिका फसेको आशङ्कामा उद्धार कार्य जारी राखिएको प्रहरीले जनाए ।
वरिष्ठ प्रहरी अधिकारी फैसल कामरानका अनुसार पुरानो भवनमा सञ्चालन भइरहेको शिक्षण केन्द्रको अपूर्ण दोस्रो तलाको छत कमजोर निर्माणका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनापछि प्रहरीले शिक्षण केन्द्रका सञ्चालक र अर्का एक जनालाई पक्राउ गरे ।
छत खस्नेबित्तिकै एम्बुलेन्स, सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा पुगेर घाइते बालबालिकालाई अस्पताल पुर्याएका थिए । स्थानीय बासिन्दाले पनि बेलचा र खाली हातले भग्नावशेष हटाउँदै फसेका बालबालिकाको खोजीमा सहयोग गरे ।
स्थानीय बासिन्दाले असुरक्षित र जीर्ण भवनमा कक्षा सञ्चालन गरेको आरोप लगाउँदै शिक्षण केन्द्रका सञ्चालकमाथि कडा कारबाहीको माग गरेका छन् । एक स्थानीय बासिन्दा जफर इकबालले एउटै टोलका धेरै परिवारले आफ्ना सन्तान गुमाएकाले गाउँ नै शोकमा डुबेको बताए ।
पाकिस्तानमा कमजोर निर्माण गुणस्तर, सुरक्षा मापदण्डको बेवास्ता र जीर्ण भवनका कारण यस्ता दुर्घटना पटक–पटक हुने गरेका छन् । मंगलबार नै मृत बालबालिकाको अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।
राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरे । उनीहरूले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता दुर्घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।









प्रतिक्रिया