
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कुल सम्पत्ति सन् २०२४ मा २ अर्ब ३० करोड डलर मात्र रहेकामा अहिले ६ अर्ब डलर पुगेको छ । मंगलबार सार्वजनिक गरिएको एक संघीय वित्तीय प्रतिवेदन अनुसार उनको सरकारका नीतिगत निर्णय र वैदेशिक व्यावसायिक सम्झौताले यस वृद्धिमा प्रत्यक्ष लाभ पुर्याएका छन् ।
उनले राष्ट्रपतिको शपथ लिँदाका बखत स्टार्टअपका रूपमा रहेका नयाँ क्रिप्टो व्यवसायहरूले अहिले उनको दशकौं पुरानो घरजग्गा पोर्टफोलियोको आम्दानीलाई पनि उछिनेका छन् । सन् २०२५ मा मात्रै ट्रम्पले आफ्ना क्रिप्टो व्यवसायहरूबाट करिब १ अर्ब २० करोड डलर कमाएको प्रतिवेदनले देखाएको छ ।
अफिस अफ गभर्मेन्ट इथिक्समा बुझाइएको ९ सय २७ पृष्ठको वार्षिक प्रतिवेदन अनुसार ट्रम्पले वर्ल्ड लिबर्टी फाइनान्सियलमार्फत गभर्नेन्स टोकन बेचेर ५० करोड डलरभन्दा बढी कमाए । त्यसैगरी अर्को क्रिप्टो व्यवसाय सीआईसी डिजिटल एलएलसीले उनको अनुहार अंकित मिम कोइनहरू बेचेर ६० करोड डलरभन्दा बढी संकलन गरे ।
तर ट्रम्पका व्यवसायमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ताहरू भने ठूलो घाटा बेहोर्न बाध्य भएका छन् । सन् २०२५ को जनवरीमा ७४ डलर पुगेको उनको मिम कोइनको मूल्य अहिले झरेर १ डलर ६८ सेन्टमा सीमित भएको छ भने वर्ल्ड लिबर्टी टोकनको मूल्य पनि ८० प्रतिशतले घटिसकेको छ ।
ट्रम्पले सन् २०२५ मा पदभार ग्रहण गरेपछि क्रिप्टो उद्योग अनुकूलका नीतिहरू ल्याएका थिए जसका कारण चिनियाँ अर्बपति जस्टिन सन जस्ता खरिदकर्ताले यसमा करोडौं डलर खन्याए । सनमाथि लगानीकर्ताहरूलाई ठगेको आरोपमा चलिरहेको संघीय मुद्दा १ करोड डलर जरिवाना तिर्ने गरी मिलापत्र नभएसम्मका लागि रोक्का गरिएको थियो ।
यसका साथै विदेशमा नयाँ होटल, रिसोर्ट र आवासीय भवनका सम्झौताहरूबाट ट्रम्पले करोडौं डलर शुल्क प्राप्त गरे जुन यो पारिवारिक व्यवसाय स्थापना भएको एक शताब्दी यताकै सबैभन्दा ठूलो विस्तार हो । ध्यान दिनुपर्ने कुरा के छ भने तीमध्ये धेरै देशहरू अमेरिकासँग भन्सार शुल्क, सैन्य सहायता र अन्य महत्त्वपूर्ण सामरिक विषयहरूमा वार्ता गरिरहेका थिए ।
संयुक्त अरब अमिरातको एउटा सम्पत्तिबाट ट्रम्पको व्यवसायले १ करोड ४ लाख डलर र साउदी अरबको राजपरिवारसँग नजिक रहेका विकासकर्ताको परियोजनाबाट ९० लाख डलर प्राप्त गरे । त्यस्तै रोमानियाको बुखारेस्ट र कतारबाट उनले ५०–५० लाख डलर प्राप्त गरे भने फ्लोरिडास्थित मार–ए–लागोले पनि ७ करोड ७० लाख डलर कमायो ।
यी व्यावसायिक सम्झौतापछि भियतनामले भन्सार छुट पायो, कतारले उन्नत अमेरिकी प्रविधिमा पहुँच पायो र साउदी अरबले अमेरिकी लडाकु विमानहरू प्राप्त गरे । यद्यपि ह्वाइट हाउसले भने ट्रम्पको व्यवसाय छोराहरूले व्यवस्थापन गर्ने ट्रस्टमा रहेको र यसमा कुनै स्वार्थको द्वन्द्व नभएको दाबी गरे ।
क्रिप्टो र घरजग्गाका अलावा ट्रम्पले आफ्नै ब्रान्डका बाइबल, जुत्ता र घडीहरू बेचेर पनि लाखौं डलर थुपारेका छन् । ट्रम्प ब्रान्डका घडीहरूको बिक्रीबाट मात्रै उनले ४७ लाख डलर आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।









प्रतिक्रिया