सेयर बजारमा उत्साह: नेप्से ४४.५९ अंकले बढ्दा कारोबार रकम झन्डै ४ अर्ब

बुधबार धितोपत्र बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४४.५९ अंकले बढेर २ हजार ६ सय ५२ दशमलव ९३ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५ दशमलव ७७ अंक, फ्लोट इण्डेक्स २ दशमलव ८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ०४ अंकले बढेका छन् ।

Advertisement

नेप्सेसँगै कारोबार रकममा पनि राम्रो सुधार देखिएको छ । मंगलबार ३ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३ सय ६२ कम्पनीको ५६ हजार ८ सय ५० पटकको कारोबारमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँबराबरको ९५ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

स्नो रिभर्सको शेयरमूल्य ६८ रुपैयाँ १० पैसा बढेर ५ सय २२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार हुँदै सकारात्मक सर्किट लेभलमा बन्द भयो । त्यस्तै सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १४ प्रतिशतभन्दा बढी र भुजुङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशतले बढेको छ ।

यस विपरीत कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने गुमाएका छन् जसको शेयरमूल्य ५ दशमलव २१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहँदै २८ करोड ८४ लाख रुपैयाँबराबरको शेयर कारोबार गर्‍यो । त्यस्तै रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १७ करोड रुपैयाँ, आँखु खोला जलविद्युत कम्पनीको १७ करोड रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो ।

बजारका १३ वटै उपसमूहको परिसूचक बढेर बजारमा उत्साह थपेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ६० प्रतिशतले बढेको छ ।

त्यस्तै जलविद्युत, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री