
निर्जीवन बीमा व्यवसायमा अग्रणी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले वित्तीय पारदर्शिता र संस्थागत सुशासनतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित सम्मान प्राप्त गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत कम्पनीले गोल्ड अवार्ड हात पारेको हो ।
काठमाडौंमा मंगलबार आयोजित एक विशेष समारोहका बीच कम्पनीलाई निर्जीवन बीमा विधा तर्फको यो उत्कृष्ट स्वर्ण पुरस्कार प्रदान गरियो । कम्पनीले आफ्नो वार्षिक प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार पारदर्शी, विश्वसनीय तथा प्रभावकारी ढंगले प्रस्तुत गरेबापत उक्त सम्मान पाएको हो ।

आईक्यानले प्रत्येक वर्ष वित्तीय पारदर्शिता, सुशासन, सूचना प्रकटीकरण र वित्तीय विवरणको गुणस्तरका आधारमा उत्कृष्ट संस्थाहरूलाई सम्मानित गर्दै आएको छ । यस वर्षको मूल्याङ्कनमा शिखर इन्स्योरेन्सले निर्जीवन बीमा विधामा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो साख जोगाउन सफल देखियो ।
यो सम्मानले शिखर इन्स्योरेन्सले अवलम्बन गर्दै आएको सुशासन, उत्तरदायित्व तथा अन्तर्राष्ट्रियस्तरको वित्तीय प्रतिवेदन प्रणालीप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । यस उपलब्धिले लगानीकर्ता, बीमित, नियामक निकाय तथा अन्य सरोकारवालामाझ कम्पनीप्रतिको विश्वास अझ मजबुत बनाउने अपेक्षा छ ।
प्रतिष्ठित पुरस्कार प्राप्त गरेपछि कम्पनीले आगामी दिनमा पनि उच्चस्तरीय संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । पारदर्शी वित्तीय प्रतिवेदन प्रणाली तथा गुणस्तरीय बीमा सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिने कम्पनीले उल्लेख गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, १९९७ अन्तर्गत स्थापित आईक्यानले प्रदान गर्ने यो पुरस्कार वित्तीय प्रतिवेदनको क्षेत्रमा नेपालकै सबैभन्दा प्रतिष्ठित मानिन्छ । यस्ता सम्मानले नेपाली बीमा बजारमा कार्यरत अन्य कम्पनीहरूलाई पनि वित्तीय अनुशासन र पारदर्शिता कायम राख्न थप प्रोत्साहन मिल्ने देखिन्छ ।









प्रतिक्रिया