
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका ४ हजारभन्दा बढी प्रवेश पास कर्मचारीको सरुवा, अवकाश वा राजीनामापछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा गरिएको अध्ययन प्रतिवेदनले हाल कार्यरत नरहेका कर्मचारीका ४ हजार ७२ वटा पास सक्रिय ‘एक्टीभ’ देखाएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
प्रधानमन्त्री कार्यालयको निर्देशन र समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका ती पुराना प्रवेश पास निष्क्रिय गर्ने प्रक्रिया तीव्र बनाएको छ। प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोलका अनुसार प्रणालीमा सक्रिय देखिएका ४ हजार ७२ प्रवेश पासमध्ये ५०७ वटा सङ्कलन गरी प्वाल पारेर नष्ट गर्ने तथा प्रणालीबाट निष्क्रिय गर्ने प्रक्रिया सुरु गरिएको छ।
सरुवा भएर गएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र जारी गरिएको छ भने केही पास कर्मचारीले स्वेच्छाले फिर्ता गरेका र केहीलाई फोनमार्फत सम्पर्क गरी फिर्ता मागिएको महानिर्देशक डङ्गोलले जानकारी दिए। सरकारले विमानस्थलको सुरक्षा र संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखेर आवश्यक सुधारका काम तत्काल कार्यान्वयन गरिरहेको दाहालले बताइन्।
प्रधानमन्त्री कार्यालयले विमानस्थलको सुरक्षा प्रभावकारी बनाउन सचिव गोविन्दबहादुर कार्कीलाई समन्वयको जिम्मेवारी दिएको छ। सोही समन्वयमा विमानस्थल सुरक्षासम्बन्धी अध्ययन, अनुगमन तथा सुधारका कामसमेत अघि बढाइएको छ।
प्राधिकरणका अनुसार सन् २०२४ जनवरी १ देखि हालसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका लागि फोटोसहितका स्थायी प्रवेश पास १२ हजार ४ सय २ र फोटोरहित अस्थायी पास १ हजार ४ सय १३ गरी कूल १३ हजार ८ सय १५ पास जारी गरिएको छ। तीमध्ये फोटोसहितका ७ हजार ६ सय ७७ पास सक्रिय र ४ हजार ७ सय २५ पास निष्क्रिय छन् भने फोटोरहित पासमध्ये १ हजार ३ सय २८ सक्रिय तथा ८५ निष्क्रिय छन्।
प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल निषेधित क्षेत्र प्रवेश अनुमति पत्र व्यवस्थापन कार्यविधि, २०८० (तेस्रो संशोधन) अनुसार प्रवेश पास निष्क्रिय गर्ने प्रक्रिया नियमित रूपमा सञ्चालन हुँदै आएको जनाएको छ। कार्यविधिको नियम २० अनुसार कर्मचारी सरुवा, अवकाश, राजीनामा वा अन्य कुनै कारणले जिम्मेवारीमा नरहेमा तीन दिनभित्र प्रवेश पास फिर्ता गर्नुपर्ने व्यवस्था छ।
विमानस्थलमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका २ सय १ संस्था आबद्ध छन्। प्रत्येक संस्थाले आफ्नै नियमअनुसार कर्मचारी नियुक्त गर्ने भएकाले स्थायी, अस्थायी तथा ‘आउटसोर्सिङ’ कर्मचारीको वर्गीकृत विवरण तत्काल उपलब्ध नभएको प्राधिकरणले जनाएको छ।
महानिर्देशक डङ्गोलका अनुसार प्रवेश पास सामान्यतया दुई वर्षका लागि जारी हुने गरेको छ। प्रतिवेदनले यस्ता पास तत्काल निष्क्रिय नगरे विमानस्थल परिसर वा अन्यत्र दुरुपयोग हुन सक्ने जोखिम रहेको उल्लेख गर्दै अभिलेख व्यवस्थापनमा एकरूपता कायम गर्न पनि सुझाव दिएको छ।









प्रतिक्रिया