
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत समता एजुकेशन फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ। शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले कम्पनीले ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो।
समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासका साथ कम्पनीले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ। वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको कम्पनीले यसपटक शिक्षामा जोड दिएको हो।
सहयोग रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेशन फाउन्डेसन अन्तर्गतका विद्यालयहरूमा उपयोग हुनेछ। ती विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा यो रकम परिचालन गरिने आयोजकले जनाएका छन्।
समता एजुकेशन फाउन्डेसनले विगत लामो समयदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यून शुल्कमा शिक्षा दिँदै आएको छ। इन्स्योरेन्सको यस सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
यस सहयोगले भविष्यमा अझ बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा राखिएको छ। विपन्न बालबालिकाहरूको शैक्षिक स्तर सुधार्न यो सहकार्य फलदायी हुने दुवै संस्थाको भनाइ छ।
‘इन्स्योरिङ फ्युचर’ को मूल मन्त्रलाई आत्मसात् गर्दै आईएमई लाइफ इन्स्योरेन्सले विभिन्न सामाजिक काम गर्दै आएको छ। कम्पनीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र समुदाय विकासका क्षेत्रमा आफ्ना गतिविधिहरूलाई निरन्तरता दिँदै आएको छ।









प्रतिक्रिया