
नेपालका जीवन बीमा कम्पनीहरूमा नागरिकको आकर्षण बढेर सक्रिय बीमालेखको संख्यामा वृद्धि भए पनि मुख्य व्यावसायिक सूचकहरूमा भने गिरावट देखिएको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको वित्तीय विवरण अनुसार समग्र जीवन बीमा व्यवसायको कुल आम्दानी संकुचित भएको छ ।
गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा कुल सक्रिय बीमालेखको संख्या १.८२ प्रतिशतले बढेर १ करोड १७ लाख ३७ हजार २ सय ९८ पुगेको छ । गत वर्षको यसै अवधिमा यो संख्या १ करोड १५ लाख २७ हजार ९ सय ९४ मात्र रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्रथम र नवीकरण शुल्कमा गिरावट
बजारमा नयाँ व्यवसाय थपिँदा संकलन हुने प्रथम बीमाशुल्कमा चालू आर्थिक वर्षको जेठसम्म १.४५ प्रतिशतको सामान्य गिरावट आएको छ । गत वर्ष यस अवधिमा ४ अर्ब १ करोड ७६ लाख ४ सय ९० रुपैयाँ प्रथम प्रिमियम संकलन भएकोमा यस वर्ष घटेर ३ अर्ब ९५ करोड ९४ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीहरूको दिगो आम्दानीको मुख्य स्रोत मानिने पुराना ग्राहकको नवीकरण बीमाशुल्कमा पनि यस वर्ष २.७७ प्रतिशतको संकुचन आएको छ । गत वर्षको जेठसम्म जीवन बीमा कम्पनीहरूले कुल १३ अर्ब ७७ करोड ३० लाख २९ हजार ८ सय रुपैयाँ नवीकरण शुल्क उठाएकोमा यस वर्षको जेठमा त्यो घटेर १३ अर्ब ३९ करोड १३ लाख ४० हजार रुपैयाँ मात्र संकलन भयो ।
खुम्चियो कुल बजारको आकार
नयाँ व्यवसाय र नवीकरण दुवैमा गिरावट आउँदा समग्र जीवन बीमा व्यवसायको कुल बीमाशुल्क संकलन २.४७ प्रतिशतले ओरालो लागेको देखिन्छ । गत वर्षको जेठसम्म कुल १७ अर्ब ७९ करोड रुपैयाँ प्रिमियम संकलन भएकोमा यस वर्ष १७ अर्ब ३५ करोड रुपैयाँ मात्र संकलन भएको छ ।
यस प्रतिकूल अवस्थाका बीच पनि नेपाल लाइफ इन्स्योरेन्स १० अर्ब १६ करोड ६८ लाख ८३ हजार रुपैयाँ सहित नयाँ व्यवसाय र ४६ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरी बजारमा सबैभन्दा अगाडि देखिएको छ । बजारमा आर्थिक शिथिलताका कारण ग्राहकको प्रिमियम तिर्ने क्षमता घटेकाले स्थापित कम्पनीहरूको व्यापार प्रभावित भई समग्र बीमा क्षेत्र नै केही सुस्त बनेको देखिन्छ ।









प्रतिक्रिया