
नेपालस्थित जर्मनी दूतावासले राहदानी खरिदसम्बन्धी विषयलाई लिएर सार्वजनिक भएका समाचारहरूबारे आफ्नो आधिकारिक धारणा स्पष्ट पारेको छ। दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै बाहिर आएका कतिपय दाबीहरू सत्य नभएको बताएको छ।
जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई त्यहाँको सङ्घीय विदेश मन्त्रालयमा आयोजना गरिएको बैठकमा उपस्थित हुन निमन्त्रणा मात्र गरिएको दूतावासले जनाएको छ। समाचारहरूमा दाबी गरिए जस्तो उनलाई मन्त्रालयमा स्पष्टीकरणका लागि ‘बोलावट’ नगरिएको दूतावासको भनाइ छ।
नेपालस्थित जर्मन नियोगले बैठकका क्रममा कुनै पनि किसिमको विरोधपत्र वा अन्य आधिकारिक दस्तावेज हस्तान्तरण नगरिएको प्रष्ट पारेको छ। राहदानी खरिदको कानुनी प्रक्रियाको नतिजालाई लिएर जर्मनीले कुनै पनि सम्भावित परिणामबारे चेतावनी नदिएको समेत विज्ञप्तिमा उल्लेख छ।
जर्मनीले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रूपमा सम्मान गर्ने र यो सिद्धान्त आफ्नो संविधानमै सुनिश्चित गरिएको दूतावासले जनाएको छ। अदालतमा विचाराधीन मुद्दाहरूका बारेमा टिप्पणी नगर्ने स्थापित मान्यता अनुसार यस प्रकरणमा पनि कुनै चरणमा टिप्पणी नगरिएको दूतावासले स्पष्ट पारेको छ।









प्रतिक्रिया