
म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारसँग आफ्नी आमा जीवितै रहेको ठोस प्रमाण माग गरेका छन्। अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दाबीप्रति गम्भीर शङ्का व्यक्त गर्दै उनले सुकी अझै राजधानी नेपिटोस्थित जेलमै रहेको विश्वास व्यक्त गरे।
लन्डनमा क्योदो न्युजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताए। उनका अनुसार आमाको अवस्थाबारे बाहिर आएको एकमात्र जानकारी स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएको भन्ने मात्र हो।
एरिसले सुकी मुटुसम्बन्धी रोगसँगै उमेर बढ्दै जाँदा देखिने हड्डी कमजोर हुने समस्याबाट पीडित रहेको जानकारी दिए। जेलमा बसेका एक पूर्व कैदीबाट सुनेको विवरणका आधारमा सुकीलाई राखिएको स्थानको अवस्था अत्यन्त कठिन र चिन्ताजनक रहेको उनले बताए।
सन् १९९१ की नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई सन् २०२१ फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेपछि हिरासतमा राखेको थियो। एरिसले आफ्नी आमासँगको अन्तिम प्रत्यक्ष सम्पर्क दुई वर्षअघि प्राप्त एउटा पत्र मात्र रहेको स्पष्ट पारे।
लन्डनमा बस्दै आएका एरिसले सार्वजनिक जीवनमा आउन नचाहे पनि आमाको पक्षमा बोल्नुपर्ने अवस्था सिर्जना भएको बताए। हालै सुकीको ८१औँ जन्मदिनका अवसरमा उनले ८१ किलोमिटर स्केटबोर्ड यात्रा पूरा गर्दै विश्व समुदायको ध्यान आकर्षित गर्ने प्रयास गरेका थिए।
विभिन्न देशमा पुगेर आमाको रिहाइका लागि पहल गर्दै आएका एरिसले म्यान्माको सैन्य नेतृत्वमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन आग्रह गरे। गृहयुद्ध चर्किंदै गएको अवस्थामा उनले सेनालाई उड्डयन इन्धनको आपूर्ति रोक्न जोड दिँदै यसैले सैन्य प्रशासनमाथि प्रभावकारी दबाब सिर्जना गर्ने दाबी गरे।









प्रतिक्रिया