असार १५ : भक्तपुरबाट एकै दिन बिक्यो १ लाख लिटर जुजु धौ

नेपाली संस्कृति र परम्पराअनुसार असार १५ का दिन घरघरमा दही चिउरा खाने प्रचलन छ। नेपाल कृषि प्रधान मुलुक भएकाले यस दिनको आफ्नै महत्व छ र अधिकांश नेपालीले दही चिउरा खाएर यो पर्व मनाउँछन्।

यसै अवसरमा स्वदेश र विदेशमा समेत चर्चामा रहेको भक्तपुरको दहीको राजा (जुजु धौ) को लोकप्रियता अहिले पनि उत्तिकै छ। असार १५ का दिन जुजु धौ बनाएर बिक्री गर्न भक्तपुरका दही व्यवसायीलाई भ्याइनभ्याइ भएको छ।

Advertisement

अरू बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले यस दिन दुई हजार लिटर दही पनि मध्याह्नसम्म बिक्री गरिसकेका छन्। भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्ण गोपाल सैजुले यस दिन एकै दिनमा १ लाख लिटर दही भक्तपुरबाट बिक्री भएको बताए।

माग धेरै भए पनि मेसिनमा उत्पादन गरे जस्तो नभई माटोको कतारोमा परम्परागत शैलीमा दही बनाउन गाह्रो हुने उनले उल्लेख गरे। यस दिन कतारोको दही मात्रै ५० हजार लिटरभन्दा बढी बिक्री भएको छ।

भक्तपुरमा सङ्घमा आबद्ध जुजु धौ उत्पादन गर्ने ४९ व्यवसायी छन् भने सङ्घमा आबद्ध नभई खुला दही उत्पादन तथा बिक्री गर्ने व्यवसायीको सङ्ख्या त्योभन्दा बढी छ। दैनिक २५ हजार लिटर दूध जुजु धौ बनाउनकै लागि भक्तपुर आयात गर्ने गरिएकामा यस दिनका लागि दोब्बर दूध आयात गरिएको छ।

एक लिटरदेखि पाँच लिटरसम्म माटोको भाँडामा बनाइने दही यस दिन प्रतिलिटर २५० रुपैयाँमा बिक्री भएको छ। अर्का व्यवसायी रामसुन्दर सैजुले शुद्ध दूधको अभाव र पर्याप्त पाउन छाडेपछि माग अनुसारको दही बनाउन नसकिएको बताए।

दूधलाई दाउराको चुलोमा उमालेर बाक्लो बनाएपछि त्यसमा चिनी, मसला हालेर माटोको भाँडोलाई भुसमाथि राखी जुटको बोराले छोपेपछि करिब तीन घण्टामै जुजु धौ तयार हुन्छ। धेरैले आधुनिक प्रविधि र मेसिनमा दही जमाएर बिक्री गर्दा जुजु धौको गुणस्तर र महत्व घट्दै गएकामा राम सैजुले चिन्ता व्यक्त गरे।

वास्तविक जुजु धौलाई चक्कुले टुक्राटुक्रा पारेर काट्न सकिने, पानी नआउने र कतारो घोप्ट्याउँदा पनि नपोखिने विशेषता हुन्छ। संस्कृतिकर्मी प्रकाशचन्द्र अमात्यका अनुसार मल्लकालमा राजाले समेत यहाँको दही खाने भएकाले यस उत्कृष्ट दहीलाई ‘जुजु धौ’ अर्थात् दहीको राजा भनिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री