राष्ट्रिय सभाबाट विनियोजन विधेयक स्वीकृत

राष्ट्रिय सभाको सोमबारको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैठकमा राखेको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।

Advertisement

सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले बजेटमा आमजनताको हितका लागि शिक्षा, स्वास्थ्य र विद्युत्मा केही मात्रामा कर लगाइएको स्पष्ट पारे। मुलुकका तीन चौथाई विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने गरेको उल्लेख गर्दै उनले सक्नेले नसक्नेलाई दिने उद्देश्यका साथ निजी विद्यालयमा प्रगतिशील कर लगाइएको बताए।

मध्यमवर्गको राहतका लागि आय कर नलाग्ने रकम वृद्धि गरिएको जानकारी अर्थमन्त्री वाग्लेले दिए। वर्तमान सरकार आउनुअघि नै बजेट सिलिङ तोकिसकेकाले संवैधानिक निकायको बजेट वृद्धि गर्न नसकिएको उनले स्पष्ट पारे।

सरकारले महत्वाकाङ्क्षी आर्थिक विकासको लक्ष्यअनुसार बजेट र कार्यक्रम ल्याएको तथा अर्थ मन्त्रालयलाई सुधार गरी कार्यान्वयन प्रभावकारी बनाइने उनले बताए। छलफलमा सांसदहरू पदमबहादुर परियार, मदनकुमारी शाह, रोशनी मेचे, नारायणदत्त मिश्र, सोमनाथ पोर्तेल र विष्णुकुमारी सापकोटाले भाग लिएका थिए भने अर्को बैठक असार १७ गते बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री