एन्फाका पूर्व अध्यक्ष बुढानीलकण्ठबाट पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

Advertisement

शुक्रबार उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले जानकारी दिए । हात्तीगौंडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरी शेर्पाले व्यक्तिगत लाभ लिएको आरोप प्रहरीले लगाएको छ ।

विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा उनले विभिन्न प्रपञ्च गरेर संस्थालाई हानि पुर्‍याएको सीआईबीको दाबी छ । अनुचित लाभ लिने नियतले डर र त्रास देखाई भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानबाट खुलेको छ ।

यसैगरी विद्यालयका लागि सवारी साधन खरिद गर्ने रकमबाट उनले आफ्नै कम्पनीको नाममा जग्गा र गाडी किनेर विद्यालयको हक टुटाएको आरोप छ । नेपाली कांग्रेसमा आबद्ध शेर्पा विरुद्ध दुई वर्षअघि नै जाहेरी परे पनि अदालतको आदेशपछि मात्र सीआईबीले यो अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री