रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा सोविता गौतम निर्वाचित भएकी छिन् । शुक्रबार भएको दोस्रो चरणको पदाधिकारी निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै गौतम उक्त पदमा चुनिएकी हुन् ।

Advertisement

पार्टीको मुख्य प्रशासनिक जिम्मेवारी सम्हाल्ने महामन्त्री पदमा भने विपिन आचार्यले बाजी मारेका छन् । तीव्र प्रतिस्पर्धाका बीच आचार्यले पार्टीका अन्य प्रभावशाली नेताहरू मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गर्दै महामन्त्रीको भूमिका सुरक्षित गरेका हुन् ।

पदाधिकारी चयनकै क्रममा सहमहामन्त्री खुलातर्फ दुई जना नयाँ अनुहार निर्वाचित भएका छन् । जसअनुसार हरि ढकाल र असिम शाहले सर्वाधिक मत ल्याएर सहमहामन्त्रीको जिम्मेवारी पाएका हुन् ।

यसैगरी महिलातर्फको सहमहामन्त्री पदमा निशा डाँगी निर्वाचित हुन सफल भएकी छिन् । यसअघि नै पार्टीको सर्वोच्च नेतृत्व अर्थात् सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका थिए ।

पार्टीको नयाँ नेतृत्व चयन गर्ने यो प्रक्रियाको पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री