
गोरखापत्र दैनिकमा कार्यरत स्वास्थ्य पत्रकार सरोज ढुङ्गेल ‘रोटरी जोर्नो अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् । स्वास्थ्य पत्रकारितामार्फत जनस्वास्थ्यका गम्भीर मुद्दा उजागर गर्दै नागरिकलाई सुसूचित बनाउन पुर्याएको योगदानको कदरस्वरूप उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा ढुङ्गेललाई ‘रोग रोकथाम तथा उपचार’ विधामा उत्कृष्ट घोषणा गरियो । रोटरी इन्टरनेसनलका निर्देशक वासुदेव गोल्यान र डिस्ट्रिक्ट गभर्नर बिनोद कोइरालाले उनलाई संयुक्त रूपमा नगद ५१ हजार रुपैयाँ, सम्मानपत्र तथा अवार्ड हस्तान्तरण गरे ।
यस वर्षको अवार्डका लागि देशभरका ५० जना पत्रकारले विभिन्न विधामा प्रकाशित तथा प्रसारित २५७ वटा समाचार सामग्री दर्ता गराएका थिए । सुरेश आचार्यको संयोजकत्वमा रहेको छनोट समितिले समाचारको गुणस्तर, सामाजिक प्रभाव र तथ्यपरकताका आधारमा विभिन्न सात विधामा उत्कृष्ट पत्रकारहरू छनोट गरेको हो ।
पुरस्कृत हुने अन्य पत्रकारहरूमा मातृ तथा शिशु स्वास्थ्यमा सागर बुढाथोकी, खानेपानी तथा सरसफाइमा विकल रेग्मी र वातावरण विधामा अर्वशी बस्न्यात रहेका छन् । त्यस्तै सामुदायिक विकासमा विजय नेपाल, शान्ति तथा द्वन्द्व रोकथाममा रुपा गहतराज र आधारभूत शिक्षा विधामा सुदीप कैनी सम्मानित भएका छन् ।
यसैगरी नेपाली पत्रकारितामा दीर्घकालीन योगदान पुर्याएबापत वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । रोटरीले सन् २०११ देखि शिक्षा, स्वास्थ्य र वातावरण जस्ता सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारहरूलाई प्रोत्साहन गर्न यो प्रतिष्ठित अवार्ड प्रदान गर्दै आएको छ ।









प्रतिक्रिया