एआई र चिप उद्योगमा सामसुङको ६ खर्ब ५० अर्ब डलरको लगानी

कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सामसुङले आगामी हप्ता १० हजार खर्ब वन अर्थात् करिब ६ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको दीर्घकालीन लगानी रणनीति घोषणा गर्ने गृहकार्य गरेको हो ।

Advertisement

यो विशाल लगानी योजना राष्ट्रपति ली जे म्युङको राजधानी सियोल बाहिरका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग जोडिएको छ । राष्ट्रपति लीले सोमबार आयोजना गर्ने ‘नेसनल मेगा प्रोजेक्ट’ कार्यक्रममा सामसुङले आफ्नो नयाँ रणनीति सार्वजनिक गर्ने र सोही कार्यक्रममा प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्सले पनि आफ्नो लगानी योजना घोषणा गर्ने सम्भावना छ ।

डाटा सेन्टर, च्याटबोट तथा इमेज जेनेरेटर जस्ता एआई प्रविधिको माग तीव्र रूपमा बढेपछि सेमिकन्डक्टर उद्योगमा ठूलो लगानी आकर्षित भएको हो । सामसुङको प्रस्तावित प्याकेजअन्तर्गत दक्षिणपश्चिमी दक्षिण कोरियामा नयाँ सेमिकन्डक्टर कम्प्लेक्स निर्माणका लागि ३ लाख अर्ब वन खर्च गरिनेछ भने योङ्गिनमा ६ वटा चिप उत्पादन केन्द्र निर्माणका लागि ६ सय खर्ब वन विनियोजन गरिनेछ ।

बाँकी रकममध्ये ३ हजार ५ सय खर्ब वन डाटा सेन्टर र एआई पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको छ, जसले तुलनात्मक रूपमा पछाडि परेका क्षेत्रको विकास गर्ने लक्ष्य राखेको छ । सामसुङले गत वर्ष ४३६ खर्ब वन सञ्चालन नाफा कमाएकोमा विश्लेषकहरूले यस वर्ष कम्पनीको नाफा ३ हजार खर्ब वन नाघ्न सक्ने र आगामी वर्ष ५ हजार ५ सय खर्ब वनसम्म पुग्न सक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री