
काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार निजी कारले मोटरसाइकलहरूलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन्। बा१४च ४८२० नम्बरको कारको ठक्करबाट घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर रहेको छ।
घाइते हुनेहरूमा बा८९प ६४८६ नम्बरको मोटरसाइकलका चालक २२ वर्षीय ज्ञानसागर लोप्चन र पछाडि सवार १९ वर्षीय बबिन राई रहेका छन्। ललितपुरको ग्वार्को बस्ने उनीहरू क्रमशः मकवानपुर र भोजपुरका स्थायी बासिन्दा हुन्।
दुर्घटनामा बा९६प ३३२५ नम्बरको मोटरसाइकलका चालक धापाखेल बस्ने ३० वर्षीय एलिस बानियाँ पनि घाइते भएका छन्। यसैगरी बा प्र ०२०६६ प ६१०७ नम्बरको मोटरसाइकलका चालक स्वयम्भू बस्ने १८ वर्षीय सुशील श्रेष्ठ र पछाडि सवार २१ वर्षीय रवि चन्द घाइते भएको प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार बा प्र ०२०४१ प ८२८२ नम्बरको मोटरसाइकलका चालक २२ वर्षीय सुदीप थापा पनि दुर्घटनामा परेका छन्। रामेछाप मन्थली घर भई झम्सीखेल बस्ने उनीसहित सबै घाइतेलाई उपचारका लागि बिएण्डबी अस्पताल पठाइएको छ।
दुर्घटनामा परी क्षति भएका सवारीसाधन र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरीवृत्त कोटेश्वरमा राखिएको ट्राफिक प्रहरीले जनाएको छ।









प्रतिक्रिया