मलाई अपरिपक्व हुने छुट छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अबका दिनमा अपरिपक्व बन्ने र गल्ती गर्ने कुनै छुट नभएको स्पष्ट पारेका छन् । चितवनमा सम्पन्न पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट पुनः सभापति पदमा निर्वाचित भएपछि आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

आम नागरिकले आफ्नो पार्टीप्रति ठूलो आशा र भरोसा राखेकाले त्यो जनविश्वासलाई टुट्न नदिन आफूले विगतभन्दा धेरै मिहेनत गर्नुपर्ने चुनौती रहेको उनले औंल्याए । संस्थापक सभापति हुनुको नाताले आफूमाथि गहन जिम्मेवारी थपिएको भन्दै उनले विगतमा लाग्ने गरेका अपरिपक्वताका आरोपहरूलाई चिर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।

Advertisement

सभापति लामिछानेले सम्बोधनका क्रममा पार्टीमाथि उठ्ने विभिन्न प्रश्न र आलोचनाहरूबाट नभागिकन तिनको रचनात्मक रूपमा सामना गर्ने नीति लिइने बताए । रास्वपाको राजनीतिक क्रियाकलाप, अभिव्यक्ति र उपस्थितिले देशका प्रबुद्ध वर्ग, नागरिक समाज, सञ्चार जगत र अन्तर्राष्ट्रिय वृत्त कोही पनि भयभित हुन नपर्ने भन्दै उनले जनतालाई आश्वस्त पार्ने काम आफूहरूको भएको जिकिर गरे ।

लोकतन्त्रका आधारभूत सिद्धान्त र राज्यका कयौँ महत्वपूर्ण संस्थाहरूलाई भत्कन दिन नहुने कुरामा जोड दिँदै उनले शक्ति पृथकीकरणको सिद्धान्तमा पार्टी अडिग रहने स्पष्ट पारे । मतको बलमा हिजोका शासकहरूले जस्तै गलत अभ्यास गरेमा त्यसले मुलुकलाई ठूलो दुर्घटनातर्फ धकेल्ने र सिंगो पुस्ताले क्षति बेहोर्नुपर्ने तर्फ उनले सचेत गराए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री