
सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नतिजामा कुनै त्रुटि र लापरबाही नभएको स्पष्ट पारेका छन्।
नतिजालाई लिएर लगाइएका आरोपहरू केवल प्रोपगान्डा मात्र भएको भन्दै उनले मन्त्रालयको अध्ययनमा समेत कुनै कैफियत फेला नपरेको दाबी गरे। शिक्षकहरूलाई जिम्मेवार बनाएका कारण यस पटक नतिजा छिटो सार्वजनिक गर्न सकिएको र ग्रेड प्रतिशतसमेत बढेको उनको भनाइ छ।
बैठकमा सचिव पौडेलले विश्वविद्यालयको नियुक्ति प्रक्रिया प्रचलित ऐन अनुसार नै भइरहेको जानकारी दिँदै खुला विश्वविद्यालयको स्थायी शिक्षकको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए।
‘
हाल नेपालका विभिन्न विश्वविद्यालयमा करिब १ हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले विद्यार्थी भिसा सहजीकरणका लागि गृह मन्त्रालयसँग छलफल भइरहेको उल्लेख गरे। चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउन सरकारले नीतिगत निर्णय गर्ने तयारी गरिरहेको समेत उनले बताए।
स्वदेशमा अध्ययन पूरा गरेपछि पर्याप्त रोजगारी नपाउँदा नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि बाहिरिने गरेको सचिव पौडेलको भनाइ छ। नेपालमै रोजगारीका अवसरहरू सिर्जना गर्न सबै क्षेत्रबाट सामूहिक प्रयास भएमा विद्यार्थीलाई स्वदेशमै रोक्न सकिने विश्वास उनले व्यक्त गरे।









प्रतिक्रिया