
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई अङ्कले घटेर २ हजार ६ सय ४९ दशमलव ५१ मा पुगेको छ ।
यसैगरी ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ५५ अङ्कले ओरालो लागेर ४ सय ५७ दशमलव ६८ मा सीमित भएको छ । शुक्रबार बजारमा कूल ३ सय ५९ कम्पनीको ७७ लाख २७ हजार ६ सय ४९ कित्ता शेयर खरिदबिक्री भए ।
उक्त शेयरहरू ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार ५ सय ५२ मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिनको कारोबारमा विभिन्न बैंकका डिबेञ्चर तथा ऋणपत्रहरूको आकर्षण देखिएको छ ।
ऋणपत्र र अन्य कम्पनीको कारोबार
कारोबार रकमका आधारमा ग्लोबल आइएमइ बैंकको डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा रहन सफल भयो । यसका साथै ग्लोबल आइएमई बैंककै डिबेञ्चर २०८४/८५, नेपाल बैंकको डिबेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल पनि बढी कारोबार हुने शीर्ष कम्पनीमा परे ।
कमाउने र गुमाउने कम्पनीहरू
बजार घटे पनि स्नो रिभर फल्स, टक्सार पिलुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरका लगानीकर्ताले कमाउन सफल भएका छन् । त्यस्तै एनएमबी डिबेञ्चर २०८९/९० र एनएमबी डिबेञ्चर २०९० का शेयरधनीले पनि नाफा कमाएका छन् ।
अर्कातर्फ कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक र एनआइसी एशिया ऋणपत्र २०८० का लगानीकर्ताले भने गुमाउनुपरेको छ । सोपान फर्मासिटिकल्स र माईखोला हाइड्रोपावरका शेयरधनीले पनि शुक्रबार नोक्सानी ब्यहोरेका छन् ।









प्रतिक्रिया