
रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। समयमै नगरसभा र गाउँसभा सम्पन्न गरी बजेट ल्याउनेमा गौर, चन्द्रपुर, परोहा, मौलापुर, बौधीमाई, गुजरा, इशनाथ, देवाहीगुनाही, माधवनारायण, गढीमाई, राजपुर, बृन्दावन र राजदेवी नगरपालिका रहेका छन्। दुर्गाभगवती तथा यमुनामाई गाउँपालिकाले पनि आफ्नो गाउँसभा सम्पन्न गरिसकेका छन्।
अर्कातर्फ कटहरिया, गरुडा र फतुवा विजयपुर नगरपालिकाले भने अझैसम्म नगरसभा गर्न सकेका छैनन्। जिल्लाकै सबैभन्दा ठूलो चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब २१ करोड ८० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। नगरप्रमुख सञ्जयकुमार काफ्ले र उपप्रमुख जयमाला चौधरीले पालिकाको १७औँ नगरसभाबाट उक्त बजेट पारित भएको जानकारी दिए।
सदरमुकामको गौर नगरपालिकाले आफ्नो १८औँ नगरसभामार्फत आगामी आर्थिक वर्षका लागि ५३ करोड ८८ लाख रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ। नगरको समग्र विकास, सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै नगरप्रमुख शम्भु साहले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
यसैगरी मौलापुर नगरपालिकाले करिब ४२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको नगरप्रमुख रिनाकुमारी साहले जानकारी दिइन्। यस बजेटमा विगतदेखिकै ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिँदै बिजुली र खानेपानी निःशुल्क गर्ने तथा ‘छोरीसँग मेयर कार्यक्रम’लाई प्रभावकारी बनाउने उद्घोष गरिएको छ।
गढीमाई नगरपालिकाका प्रमुख श्याम यादवले ५९ करोड २२ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन गरेका छन्। जसमा चालु खर्चतर्फ ४० करोड ९० लाख ४७ हजार र पुँजीगत खर्चतर्फ १८ करोड ३२ लाख ८ हजार रुपैयाँ छुट्याइएको छ।
बौधीमाई नगरपालिकाको १२औँ नगरसभामा उपप्रमुख प्रमिला देवीले ६३ करोड ९६ लाख ४ हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरिन्। त्यस्तै वृन्दावन नगरपालिकाको ११औँ नगरसभामा नगरप्रमुख विनोदप्रसाद कुर्मीले ६० करोड ९२ लाख २५ हजार ८ सय ८१ रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।
राजपुर नगरपालिकाको १०औँ नगरसभाले ५० करोड २१ लाख ९३ हजार रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको छ। यता माधव नारायण नगरपालिकाको ११औँ नगरसभाबाट ५० करोड २९ लाख २० हजार रुपैयाँको वार्षिक अनुमानित बजेट प्रस्तुत गरिएको छ।









प्रतिक्रिया