इन्जुरी समयको गोलले अमेरिकाको अपराजित यात्रा रोकियो

फिफा विश्वकप २०२६ को समूह चरणबाट बाहिरिइसकेको टर्कीले आयोजक अमेरिकाको अपराजित यात्रामा पूर्णविराम लगाएको छ।

Advertisement

शुक्रबार भएको रोमाञ्चक खेलको इन्जुरी समयमा गोल गर्दै टर्कीले अमेरिकामाथि ३-२ गोल अन्तरको ऐतिहासिक जित निकालेको हो।

विश्वकपमा टर्कीको यो सन् २००२ पछिको पहिलो जित हो। खेलको अन्तिम क्षणमा कान आयहानले गोल गर्दै टर्कीलाई महत्त्वपूर्ण जित दिलाएका हुन्।

हलिउडका चर्चित कलाकारहरू ब्राड पिट, एड नोर्टन र ओवेन विल्सनको उपस्थिति रहेको खेलमा अमेरिकाले उत्कृष्ट सुरुवात गरेको थियो। खेलको तेस्रो मिनेटमै अस्टोन ट्रस्टीले गोल गर्दै आयोजक टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

यो विश्वकप इतिहासमा अमेरिकाका तर्फबाट भएको दोस्रो द्रुत गोल हो। सुरुवाती दबाब झेलेको टर्कीका लागि अर्दा गुलेरले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।

पहिलो हाफमै ओर्कुन कोक्कुको प्रहार गोलमा परिणत भएपछि टर्कीले २-१ को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप आक्रामक बनेको अमेरिकाका लागि सेबास्टियन बर्हाल्टरले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए।

खेल सकिनै लाग्दा जान उजुनको पासमा आयहानले निर्णायक गोल गरेपछि टर्की विजयी भएको हो। पराजित भए पनि अमेरिका समूह ‘डी’ को विजेता बन्दै अन्तिम ३२ मा पुगिसकेको छ भने टर्की पुछारमा रहँदै बाहिरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री