रास्वपा महाधिवेशन: ६ पदका लागि ३० जनाको उम्मेदवारी, महामन्त्रीमा ८ जना भिड्दै (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन आयोगले शुक्रबार प्रकाशन गरेको सूची अनुसार विभिन्न ६ वटा मुख्य पदका लागि ३० जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका हुन्।

पार्टीले सभापतिमा रवि लामिछाने र ९९ जना केन्द्रीय सदस्यहरू यसअघि नै निर्वाचित गरिसकेको छ।

Advertisement

आयोगले सार्वजनिक गरेको विवरण अनुसार उपसभापति (खुला) पदका लागि डा. स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्। उपसभापति (महिला) को एक पदका लागि भने सोविता गौतम र डा. तोसिमा कार्कीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

पार्टीको महत्वपूर्ण मानिने एक खुला महामन्त्री पदका लागि ८ जना नेताहरू मैदानमा उत्रिएका छन्। यस पदका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले आफ्नो उम्मेदवारी दिएका छन्।

त्यस्तै दुई जना निर्वाचित हुने सह–महामन्त्री (खुला) पदका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ। यस पदमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तबीच प्रतिस्पर्धा हुँदैछ।

सह–महामन्त्री (महिला) को एक पदका लागि ५ जना महिला नेतृहरूले उम्मेदवारी दिएका छन्। जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले यस पदमा आ–आफ्नो दावेदारी प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री