रास्वपा महाधिवेशन: पदाधिकारीमा रञ्जु, सोविता र सागरको उम्मेदवारी घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि पदाधिकारी तहमा आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन्। केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएलगत्तै नेताहरूले पार्टीको माथिल्लो नेतृत्वका लागि दाबी प्रस्तुत गरेका हुन्।

महामन्त्रीमा रञ्जु र सागरको दाबी

केन्द्रीय सदस्यमा निर्वाचित भएलगत्तै सांसद रञ्जु दर्शनाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। ६ पदाधिकारी चयनका लागि हुने दोस्रो चरणको निर्वाचनमा आफू महामन्त्रीको दौडमा रहने उनले बताइन्।

Advertisement

यसैगरी केन्द्रीय सदस्यको निर्वाचनमा चौथो लोकप्रिय मत ल्याएर विजयी भएका सागर ढकालले पनि महामन्त्रीमै उम्मेदवारी दिने निर्णय गरेका छन्। मतपत्रमा नाम खोज्न निकै चुनौतीपूर्ण भए पनि आफूलाई अत्यधिक मत दिएको भन्दै उनले मतदाताप्रति आभार प्रकट गरे।

ढकालले अब आफू पार्टीभित्र केवल सल्लाहकारको भूमिकामा मात्र सीमित नरहने प्रष्ट पारेका छन्। संगठनलाई सही दिशा दिन कुशल चालकको भूमिका निर्वाह गर्ने भन्दै उनले अबका दिनमा समयको कडा पालना गर्ने र गराउने प्रतिबद्धता समेत जनाए।

उपसभापतिमा सोविताको उम्मेदवारी

केन्द्रीय सदस्यको निर्वाचनमा दोस्रो लोकप्रिय मत ल्याएकी सोविता गौतमले उपसभापति पदमा दावेदारी प्रस्तुत गरेकी छन्। पहिलो चरणको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग बोल्दै उनले सहमति नजुटेको खण्डमा उपसभापतिमा उम्मेदवारी दिने बताइन्।

सहमतिमा पदाधिकारीहरू चयन गर्ने प्रयास जारी रहेको भन्दै उनले सहमति नभए स्वस्थ प्रतिस्पर्धामा उत्रने स्पष्ट पारिन्। केन्द्रीय सदस्यका लागि भएको विद्युतीय मतदानमा सोविताले २ हजार ५ सय ९४ मत पाएकी छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री