रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् ।

Advertisement

भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतपरिणाम अनुसार उनले २ हजार ६ सय ५६ मत प्राप्त गरेका छन् ।

उनलाई पार्टीको प्रवास समितिका शतप्रतिशत प्रतिनिधिले मतदान गरेका थिए । बिहीबार बिहान सम्पन्न मतदानको अन्तिम परिणाम निर्वाचन समितिले औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

रास्वपाको संशोधित विधान अनुसार कुल १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमध्ये ९९ जना मतदान प्रक्रियाबाट प्रत्यक्ष निर्वाचित हुने वैधानिक नियम बनाइएको छ ।

बाँकी सदस्यमध्ये ५१ जनालाई सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ वटै प्रदेशका सभापतिहरू स्वतः पदेन केन्द्रीय सदस्य रहने व्यवस्था छ । केन्द्रीय सदस्यमा निर्वाचित भएपछि वाग्ले दोस्रो चरणमा उपसभापति पदको उम्मेदवार बन्ने तयारीमा छन् ।

महाधिवेशनमा ३७९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन समितिका अनुसार खुला तथा समावेशी समूहबाट ६४ जना र सात प्रदेशबाट पाँच/पाँच जनाका दरले ३५ जना निर्वाचित हुनेछन्।

खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । समावेशी समूहअन्तर्गत खस–आर्यतर्फ १० जना निर्वाचित हुनेछन्, जसमा ५ पुरुष र ५ महिला रहने व्यवस्था छ।

आदिवासी जनजातितर्फ ९ जना निर्वाचित हुनेछन् । यस समूहबाट ५ पुरुष र ४ महिला निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ ।

मधेसी समूहबाट ८ जना निर्वाचित हुनेछन्, जसमा ५ पुरुष र ३ महिला रहनेछन् । दलित समूहबाट ४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यसमा २ पुरुष र २ महिला रहने व्यवस्था गरिएको छ ।

त्यस्तै मुस्लिम समूहबाट २ जना निर्वाचित हुनेछन्, जसमा १ पुरुष र १ महिला रहनेछन् । यसका अतिरिक्त सातै प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री