
श्रीलङ्कामा पूर्व न्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागुऔषध तस्करलाई रिहा गराउन घुस लिएको आरोपमा बिहीबार पक्राउ गरिएको छ ।
श्रीलङ्काको प्रमुख भ्रष्टाचार अनुसन्धान निकायले हिरासतमा लिएका रकिथामाथि सन् २०२३ मा इन्टरपोलको सहयोगमा मेडागास्करबाट स्वदेश फिर्ता ल्याइएका लागुऔषध तस्करीका मुख्य संदिग्ध नादुन चिन्ताकालाई रिहा गराउन ठूलो रकम घुस लिएको आरोप छ ।
अधिकारीहरूका अनुसार उक्त रिहाइका लागि करिब ५० करोड श्रीलङ्काली रुपैयाँ बराबरको घुस मागिएकोमा भ्रष्टाचार अनुसन्धान आयोगले रकिथाले त्यसमध्ये करिब १२ करोड रुपैयाँ प्राप्त गरिसकेको जनाएको छ । घटना भएको समयमा रकिथाका पिता न्याय तथा कारागार सुधार मन्त्रीको जिम्मेवारीमा भए पनि सन् २०२४ को आम निर्वाचनमा तत्कालीन सरकार पराजित भएपछि तस्करलाई रिहा गर्ने योजना असफल भएको थियो ।
‘हरक काटा’ नामले परिचित नादुन चिन्ताकालाई श्रीलङ्का प्रहरीले देशकै सबैभन्दा खतरनाक लागुऔषध तस्करमध्ये एकका रूपमा लिँदै आएको छ । आपराधिक सञ्जाल सञ्चालन गरेको आरोप लागेका उनी हाल न्यायिक हिरासतमा छन् ।
गत सेप्टेम्बरमा वामपन्थी राष्ट्रपति अनुरा कुमार दिसानायके सत्तामा आएपछि भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्रता दिइएको छ । सोही अभियानअन्तर्गत रकिथा पछिल्लो उच्च–प्रोफाइल व्यक्तिका रूपमा पक्राउ परेका हुन् ।
अधिकारीहरूले विजयदास राजपक्षेको परिवार सन् २००५ देखि २०२२ सम्म श्रीलङ्काको राजनीतिमा प्रभाव जमाएको राजापाक्ष राजनीतिक वंशसँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन् । यद्यपि उक्त राजनीतिक वंशका केही सदस्यहरूले पनि हाल मनी लान्ड्रिङ र शक्ति दुरुपयोगसम्बन्धी मुद्दाको सामना गरिरहेका छन् ।









प्रतिक्रिया