शनिबार, ८ वैशाख २०८१

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई दिनमा दुई जनाको कलेजो प्रत्यारोपण, अब मासिक २ जनाको नियमित प्रत्यारोपण गर्ने तयारी

समयपोष्ट २०७८ चैत २२ गते २१:११

Advertisement

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दूई दिनमा लगातार दुई जनाको कलेजो प्रत्यारोपण गरेको छ ।

वरिष्ठ प्रत्यारोपणविद् डा पुकारचन्द्र श्रेष्ठ नेतृत्वको नेपाली टोली र भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका डा शलिन अग्रवाल नेतृत्वको टोलीले केन्द्रमा आईतबार र सोमबार लगातार दुई जनाको कलेजो प्रत्यारोपण गरेको हो ।

प्रत्यारोपणमा कीर्तिपुरका ४६ वर्षीय इच्छाकुमार महर्जनलाई उनकी श्रीमती ४३ वर्षीया ज्ञानी शोभा महर्जनले र झापाका ५१ वर्षीय रामचन्द्र वलीलाई उनकी १९ वर्षीया छोरी सुमित्रा वलीले कलेजो दान दिएकी थिइन् ।

२०७२ सालको मंसिरमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गराएको यो केन्द्रले हाल सम्म ८ जनाको कलेजो प्रत्यारोपण गरेको छ । त्यसमध्ये ७ जना स्वस्थ्य व्यक्तिबाट र १ जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कलेजो दान भएको थियो ।

डा श्रेष्ठका अनुसार हाल छिमेकी मुलुक भारतमा कलेजो प्रत्यारोपण गराउँदा एकदेखि डेढ करोड खर्च हुने गरे पनि केन्द्रमा २० लाख रुपैयाँभन्दा कम शुल्कमै कलेजो प्रत्यारोपण भइरहेको छ । उनले आगामी महिना देखि मासिक २ जनाको कलेजो प्रत्यारोपण नियमित गर्ने तयारी गरेको जानकारी दिए ।

दुई जनाको कलेजो प्रत्यारोपण गर्ने नेपाली टोलीमा शल्यचिकित्सकहरु प्रदेज सापकोटा, क्षेतेन योञ्जन तामाङ, अनिषा तिवारी, ललितकुमार दास, कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा आरती राई, निभा श्रेष्ठ, रेखा श्रेष्ठ, रश्मीत श्रेष्ठ, शिवसुन्दर राजचल, सुमन थिए । रेडियोलोजी विभागको नेतृत्व डा कृष्ण बुढाथोकीले गरेका थिए । यस्तै कोपिला दाहालको नेतृत्वको नर्सिङ टोलीमा बबिता लवजु, अनिता कार्की,लगायतले प्रत्यारोपणमा सघाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री