
सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ । पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालले रोग पुष्टि भएका १० जिल्लामा ७२ फार्मका करिब ५ लाख १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिए ।
सबैभन्दा बढी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढी प्रभावित देखिएका छन् । सरकारको निर्देशनअनुसार खटिएको द्रुत कार्य टोलीले ७ लाख अण्डा र १ सय ८३ टन दाना पनि नष्ट गरेको उनले बताए ।
उपचार नभएपछि नष्ट गर्ने विकल्प
केही हप्ताअघि झापा, मोरङ र सुनसरी जिल्लामा बर्डफ्लु देखिएको थियो । त्यसपछि महोत्तरी, बारा, चितवन हुँदै काठमाडाैँ, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लामा बर्डफ्लु फैलिएको दाहालले बताए ।
यसको उपचार नभएकाले रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर फैलन नदिनु नै एकमात्र उपाय हो । पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प नभएकाले रोग नियन्त्रणका लागि पशु चिकित्सक र पशु स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन् ।
उपत्यका जोखिममा, चितवनमा नियन्त्रण उन्मुख
पछिल्लो समय काठमाडौँ उपत्यका बर्डफ्लुुको जोखिममा रहेको छ । चितवन र मुलुकका अन्य भागमा भने करिब करिब रोग नियन्त्रणमा आइसकेको दाहालले जानकारी दिए ।
थप सङ्क्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पन्छीजन्य उत्पादन नष्ट गरिन्छ । यसरी नष्ट भएको करिब २ महिना पछि मात्रै व्यवसाय पुनः सुरु गर्न पाउने व्यवस्था रहेको छ ।
किसानलाई ७५ प्रतिशत राहत
बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार यसरी पन्छीजन्य उत्पादन नष्ट गरिएका किसानलाई राहत दिने व्यवस्था गरिएको छ । सरकारले किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत उपलब्ध गराउने नियम बनाएको छ ।
लागत मूल्य जिल्लाअनुसार फरक पर्नसक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलगायत उच्च पदाधिकारीको बैठकले मूल्य निर्धारण गर्ने निर्णय गर्ने गरेको महानिर्देशक दाहालले बताए ।








प्रतिक्रिया