बागमती प्रदेशमा सबैभन्दा बढी ब्रेन ट्युमरका बिरामी, ३० देखि ५० वर्ष उमेर समूह उच्च जोखिममा

नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सोमबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।

Advertisement

नेपालभरका २० भन्दा बढी न्यूरो केन्द्रमा गरिएको अध्ययनका आधारमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा. राजीव झाले यो विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार २०८२ सालमा मात्रै ३ हजार जना ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको छ, जबकि २०८१ सालमा यो सङ्ख्या २ हजार ६ सय मात्र थियो।

यो रोगबाट सबैभन्दा बढी ३० देखि ५० वर्ष उमेर समूहका नागरिक प्रभावित भएका छन्। प्रादेशिक हिसाबले हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ३६.४ प्रतिशत बिरामीको शल्यक्रिया गरिएको तथ्याङ्कले देखाउँछ।

Advertisement

वरिष्ठ न्यूरोसर्जन डा. झाले नेपालमा ग्लियोमा र मेनिन्जियोमा प्रकृतिका ट्युमरका बिरामी अत्यधिक रहेको बताए। २०८२ सालमा उच्च ग्रेड ग्लियोमाको अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ भने मेनिन्जियोमाका बिरामी ७.४ प्रतिशतबाट बढेर २७.१ प्रतिशत पुगेका छन्।

डा. झाका अनुसार स्टेज १ र २ मा रहेका ट्युमरलाई शल्यक्रियामार्फत पूर्ण रूपमा निको पार्न सकिन्छ। स्टेज ३ र ४ मा पुगेका बिरामीलाई भने शल्यक्रियाका साथै विभिन्न थेरापीहरू आवश्यक पर्ने उनले स्पष्ट पारे।

निरन्तर टाउको दुख्नु, बिहान उठ्ने बित्तिकै बान्ता हुनु, कान नसुन्नु, छारे रोग देखिनु र शरीर प्यारालाइसिस हुनु ब्रेन ट्युमरका मुख्य लक्षण हुन्। यस्ता लक्षण देखिएमा तुरुन्त परीक्षण गराई प्रारम्भिक अवस्थामै उपचार गरे बिरामीको ज्यान जोगाउन सकिने डा. झाले बताए।

विगत दुई वर्षदेखि वीर अस्पतालले ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सेवा दिँदै आएकोमा यो सेवा आगामी जुन महिनासम्म उपलब्ध हुने जानकारी उनले दिए। यस वर्ष ‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री