भारतमा मेटाको पहिलो एआई डाटा सेन्टर, रिलायन्ससँग साझेदारी

फेसबुकको मातृ कम्पनी मेटाले भारतमा आफ्नो पहिलो एआई-सक्षम डाटा सेन्टर निर्माणका लागि रिलायन्स इन्डस्ट्रिजसँग साझेदारी गरेको छ। विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तार गर्ने प्रतिस्पर्धा तीव्र भइरहेका बेला यो नयाँ परियोजना अघि सारिएको हो।

यो अत्याधुनिक एआई पूर्वाधार भारतको गुजरात राज्यस्थित जामनगर जिल्लामा निर्माण गरिनेछ। दुवै कम्पनीले बुधबार संयुक्त रूपमा घोषणा गर्दै यस परियोजनाले जेनेरेटिभ एआई सेवाहरूलाई समर्थन गर्न आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउने बताए।

Advertisement

डिजिटल सेवा र एआई माग तीव्र रूपमा बढ्दै गएपछि रिलायन्स इन्डस्ट्रिजले आगामी दुई वर्षभित्र १६८ मेगावाट क्षमताको डाटा सेन्टर विकास गर्नेछ। मेटाले उक्त पूर्वाधारबाट आवश्यक क्षमता भाडामा लिएर प्रयोग गर्ने योजना बनाएको छ।

परियोजनाको वित्तीय विवरण भने सार्वजनिक गरिएको छैन। मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यसलाई भारतमा कम्पनीको पहिलो एआई-सक्षम डाटा सेन्टर निर्माणका रूपमा उल्लेख गर्दै रणनीतिक रूपमा महत्त्वपूर्ण कदम भएको बताए।

जामनगरमा बन्ने यो विश्वस्तरीय सुविधा मेटाको एआई पूर्वाधारलाई विश्वव्यापी रूपमा विस्तार गर्न सहयोगी हुने देखिन्छ। रिलायन्सका अध्यक्ष मुकेश अम्बानीले यो परियोजनालाई भारतमा विश्वस्तरीय प्रविधि कम्पनीका लागि पहिलो ‘बिल्ट-टु-सुट’ डाटा सेन्टर भएको बताए।

अम्बानीले यसलाई भारतको डिजिटल पूर्वाधार विकासमा ऐतिहासिक कदमका रूपमा व्याख्या गरे। भारतमा एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेकाले क्लाउड कम्प्युटिङ, एआई सेवा र डाटा भण्डारणको माग तीव्र रूपमा बढिरहेको छ।

Advertisement

यही कारण विश्वका ठूला प्रविधि कम्पनीहरू र स्थानीय समूहहरूले देशभर ठूला डाटा सेन्टर परियोजनामा लगानी बढाइरहेका छन्। यसअघि गुगल र अमेजनले पनि भारतमा आफ्नो क्लाउड पूर्वाधार विस्तार गरिसकेका छन्।

अडानी समूह र रिलायन्स जस्ता भारतीय कम्पनीहरूले समेत विशाल डाटा सेन्टर योजनाहरू सार्वजनिक गरेका छन्। हालै अस्ट्रेलियाली डाटा सेन्टर कम्पनी एयरट्रङ्कले सन् २०३० सम्म भारतमा ५ गिगावाट क्षमताको पूर्वाधार विकास गर्न ३० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो।

रिलायन्स इन्डस्ट्रिज भारतको सबैभन्दा ठूलो निजी समूह हो। यसको जामनगर रिफाइनरीलाई विश्वकै सबैभन्दा ठूलोमध्ये एक मानिन्छ।

सोही जामनगर क्षेत्रमा रहेको वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्रलाई पनि विश्वका ठूला संरक्षण परियोजनामध्ये एकका रूपमा उल्लेख गरिन्छ। यस नयाँ एआई डाटा सेन्टरले भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधार र कृत्रिम बौद्धिकता प्रतिस्पर्धामा थप अग्रस्थानमा उभ्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री