चन्द्रमा मिसनका लागि आर्टेमिस–३ चालक दल घोषणा

चन्द्रमामा पुनः मानव अवतरण गराउने लक्ष्यका साथ अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले आफ्नो ऐतिहासिक आर्टेमिस–३ मिसनका लागि परीक्षण उडान चालक दलको घोषणा गरेको छ। यस विशेष परीक्षण उडानमा चार मुख्य अन्तरिक्ष यात्री र एक वैकल्पिक सदस्य रहने गरी टोली तयार पारिएको छ।

Advertisement

यो टोलीले सन् २०२७ मा सञ्चालन हुने जटिल कक्षीय परीक्षणहरूमा प्रत्यक्ष सहभागिता जनाउने नासाले उल्लेख गरेको छ। यो परीक्षण उडान सन् २०२८ मा चन्द्रमाको दक्षिणी ध्रुवमा पठाइने चालक दलयुक्त आर्टेमिस–४ मिसनको पूर्वतयारीका लागि निकै महत्त्वपूर्ण चरण मानिएको छ।

घोषित चालक दलको कमान्डरमा नासाका अन्तरिक्ष यात्री र्‍यान्डी ब्रेसनिक र पाइलटमा युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) का लुका पार्मिटानो चयन भएका छन्। मिसन विशेषज्ञका रूपमा नासाका आन्द्रे डगलस र फ्रान्क रुबियो रहेका छन् भने वैकल्पिक सदस्यमा नासाकै बब हाइन्सलाई राखिएको छ।

Advertisement

अब यो टोलीले ओरियन अन्तरिक्ष यानका प्रणालीहरूको विशेष प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ। उनीहरूले ब्लू ओरिजिन र स्पेसएक्स कम्पनीले विकास गरिरहेका चन्द्र ल्यान्डरहरूको परीक्षण तथा सञ्चालन प्रक्रियामा समेत प्राविधिक सहयोग पुर्‍याउने छन्।

मिसन योजना अनुसार फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्पेस लन्च सिस्टम (एसएलएस) रकेटले ओरियन अन्तरिक्ष यान र चालक दललाई पृथ्वीको कक्षामा प्रक्षेपण गर्नेछ। कक्षामा पुगेपछि ओरियनले व्यावसायिक मानव अवतरण प्रणालीका ल्यान्डरहरूसँग भेटघाट र डकिङ अभ्यास गर्ने कार्यतालिका छ।

यस क्रममा ब्लू ओरिजिन र स्पेसएक्सका ल्यान्डरहरूसँग अलग-अलग डकिङ गर्दै अन्तरिक्ष यान समन्वय, सफ्टवेयर, सञ्चार र इन्धन प्रणाली जस्ता जटिल प्रविधिहरूको विस्तृत मूल्याङ्कन गरिनेछ। यस मिसनमा पहिलो पटक युरोपेली अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्रीलाई औपचारिक रूपमा समावेश गरिएकाले यसलाई ऐतिहासिक कदम मानिएको छ।

नासाका प्रशासक जेरेड आइज्याकम्यानले यो घोषणालाई मानवताको चन्द्रयात्रामा अर्को ठुलो कदमका रूपमा व्याख्या गर्दै यसले नयाँ ‘अन्तरिक्ष स्वर्ण युग’ सुरु गर्न मद्दत गर्ने बताए। आर्टेमिस–३ मिसनले भविष्यमा मानवलाई चन्द्रमा हुँदै मङ्गल ग्रहसम्म पुर्‍याउने दीर्घकालीन योजनाको बलियो आधार तयार पार्ने विश्वास नासाको छ।

प्रक्रिया अनुसार सुरुमा ब्लू ओरिजिनको ल्यान्डर पाथफाइन्डर कक्षामा प्रक्षेपण भई तयारी अवस्थामा बस्नेछ र ओरियनले त्यहाँ पुगेर दुई दिनसम्म प्रणाली परीक्षण गर्नेछ। त्यसपछि स्पेसएक्सको स्टारसिप ल्यान्डरसँग अर्को चरणको परीक्षण सकेर ओरियन पृथ्वी फर्कनेछ। प्रशान्त महासागरमा ओर्लिने यो सम्पूर्ण परीक्षण मिसन करिब दुई साता चल्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री