आरोही उद्धार र स्वास्थ्य सेवा सुदृढ गर्दै सरकार

सरकारले आरोही तथा पदयात्रीहरू आकस्मिक रूपमा बिरामी पर्दा गरिने उद्धार प्रणाली र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने भएको छ ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्रा डा जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आकस्मिक उद्धारपछि बिरामीलाई निजी अस्पतालमा लैजानुपर्ने वर्तमान अवस्थाको समीक्षा गर्दै सरकारी अस्पतालहरूको क्षमता सुदृढीकरण गर्ने विषयमा जोड दिएको छ । आगामी भदौदेखि प्रमुख ट्रेकिङ रुटहरूमा परीक्षणका रूपमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्नेबारे समेत छलफल भएको छ ।

उच्च हिमाली क्षेत्रमा अत्यावश्यक मानिने ‘डाइमक्स’ तथा फ्रस्टबाइटको उपचारमा प्रयोग हुने विशेष सुई र औषधिको उपलब्धता सुनिश्चित गर्न सम्बद्ध निकायहरूलाई पूर्वतयारीका लागि प्रा डा अग्रवालले जोड दिए । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटा र पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने सहभागी थिए ।

Advertisement

उक्त बैठकमा पर्यटकीय याममा हुने अत्यधिक भीडभाडको व्यवस्थापन र नक्कली उद्धारको नियन्त्रण गर्ने विषयमा समेत छलफल भएको थियो । यसका साथै हिमालहरूको भारवहन क्षमताको वैज्ञानिक अध्ययन गर्ने विषयमा पनि सरोकारवालाबीच कुराकानी भएको छ ।

बैठकबाटै आगामी पर्यटन यामदेखि सम्भावित स्वास्थ्य जटिलता न्यूनीकरण गर्न राज्यका सम्बन्धित मन्त्रालय र निकायहरूबीच चुस्त समन्वय गरेर आवश्यक तयारी अघि बढाउने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री