एमाले फेरि उठ्छ: अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीले आफू र आफ्नो पार्टी विरुद्ध गलत प्रचार भइरहेको बताएका छन्। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार एमाले बागमती प्रदेशले आयोजना गरेको ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

पार्टी सफलताका साथ अगाडि बढिरहेको समयमा योजनाबद्ध रूपमा गलत तवरले प्रचार आक्रमण भइरहेको उनले दाबी गरे। विगतमा पार्टीले समय–समयमा ठूला धक्का र असफलताहरू बेहोरेको उनले स्मरण गराए।

Advertisement

आफूहरूलाई रोक्न अनेक व्यवधानहरू आए पनि ती सबैलाई छिचोल्दै अघि बढ्ने दृढता उनले व्यक्त गरे। पार्टीका कार्यकर्ताका लागि अहिले फेरि एउटा परीक्षाको घडी जस्तै अवस्था आएको उनले उल्लेख गरे।

कार्यकर्ताको आँट र भरोसाकै कारण फेरि पार्टी उठ्ने विश्वास उनले दिलाए। समय गतिशील र परिवर्तनशील रहेकाले एमालेलाई फेरि पनि बलियो रूपमा उठाउने उनले बताए।

पार्टी सफल वा असफल हुँदा नेतृत्वको हिसाबले आफूले जिम्मेवारी लिने उनले स्पष्ट पारे। तर पार्टीले अप्ठ्यारो परेर धक्का खाँदा अध्यक्ष एक्लैको जिम्मेवारी नहुने उनको भनाइ थियो।

पार्टी विरोधी तत्वहरूसँग मिलेर नचाहिने खालका गतिविधिहरू गर्न कसैलाई पनि उपयुक्त नहुने उनले चेतावनी दिए।

कार्यक्रममा एमाले सचिव महेश बस्नेतले पार्टी जागरण अभियानकै बलमा संगठनलाई पुनः पहिलेकै अवस्थामा फर्काइने दाबी गरे। तत्कालका लागि पार्टी पुनर्गठनको कुनै सम्भावना र आवश्यकता नरहेको उनले स्पष्ट पारे।

जागरण अभियानबाट नै पार्टीलाई जगैदेखि बलियो बनाइने विश्वास उनले व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री