
नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाएका छन् । शनिवार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले डिजिटल प्लेटफर्मको दुरुपयोग गरी एमालेविरुद्ध प्रहार भइरहेको दाबी गरेका हुन् ।
सचिव बस्नेतले गत वर्षको २३ र २४ गतेका घटनाहरू नेपालमाथिको आक्रमण भएको उल्लेख गर्दै त्यसमा विभिन्न डिजिटल च्यानल र संस्थाहरूको संलग्नता रहेको आरोप लगाए । डिस्कोर्ड च्यानल, ‘हामी नेपाली बर्बरा फाउण्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’ जस्ता संस्थाहरू वैदेशिक शक्तिको आडमा परिचालित भएको उनले जिकिर गरे ।
ती माध्यमहरूबाट बम बनाउने, सरकारी भवन तथा निजी उद्योगहरू जलाउने जस्ता हिंसात्मक गतिविधि सिकाउने कार्य गरिएको उनको भनाइ छ ।
सरकारले पार्टीका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि प्रतिशोधपूर्ण ढंगले आधारहीन आरोप लगाएको बस्नेतले बताए । उपाध्यक्ष पौडेलमाथि लगाइएको जग्गा र उद्योगको शेयरसम्बन्धी आरोपहरू निराधार रहेको भन्दै उनले यस्ता गतिविधिको एमालेले राजनीतिक हिसाबकिताब गर्ने चेतावनी दिए ।
राज्यविरुद्ध आतंक सिर्जना गर्ने प्रयास भइरहेको भन्दै उनले अपराधीहरू सत्ताको छायामा संरक्षित रहेको आरोप लगाए ।
हाम्रा नेताहरूले शपथ ग्रहण गरेको २४ घण्टा पनि बित्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने कुरा गर्ने बालेन र सुदनप्रति नेकपा एमालेले एक-एक हिसाब राखेको बस्नेतले स्पष्ट पारे । विष्णु पौडेलमाथि वाहियात आरोप लगाएर थुनिएको भन्दै उनले कुकर्म गर्नेहरू स्वाभाविक रूपमा बेपत्ता हुनेवाला रहेको बताए ।
पार्टीले शुरु गरेको जागरण अभियानमार्फत यी तमाम भ्रमहरूबारे शुरुमा पार्टीका नेता तथा कार्यकर्ता र त्यसपछि आम जनतालाई स्पष्ट पार्दै लैजाने एमालेको योजना रहेको उनले बताए । भ्रमको खेती गर्नेहरूविरुद्ध पार्टी पंक्ति वैचारिक र सांगठनिक रूपमा सशक्त ढंगले प्रस्तुत हुने उनले उद्घोष गरे ।









प्रतिक्रिया