
देशमा मागभन्दा झण्डै दोब्बर विद्युत् उत्पादन भइरहँदा पनि ग्राहकले भने अनियमित कटौतीको सास्ती व्यहोर्नु परिरहेको छ । काठमाडौँ उपत्यकासहित देशभर प्रणालीमा आउने प्राविधिक त्रुटिका कारण ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्याले सर्वसाधारण हैरान भएका छन् ।
विशेषगरी अत्यधिक गर्मी हुने मधेस प्रदेश र तराईका जिल्लाहरूमा न्यून भोल्टेज र छिनछिनमा बत्ती काटिने समस्याले जनजीवन कष्टकर बनेको छ । दिनमा ४ देखि ५ पटकसम्म विद्युत् अवरुद्ध हुन थालेपछि उपभोक्ताहरूले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्न थालेका छन् ।
अनियमित विद्युत् आपूर्तिको विरोध गर्दै कोहलपुरका स्थानीय बासिन्दा सोमबार नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रमै पुगेका छन् । गर्मीको समयमा बत्ती जाने समस्याले हैरानी खेपेका उनीहरूले तत्काल समस्या समाधान गर्न केन्द्र प्रमुखसँग माग गरे ।
स्थानीय उपभोक्ता राजेन्द्र श्रेष्ठले प्राधिकरणको कमजोरीका कारण नागरिकले फेरि कुलमान घिसिङलाई सम्झनुपर्ने अवस्था आएको बताए । उनले प्राधिकरणलाई कि तो लोडसेडिङको तालिका सार्वजनिक गर्न कि त समाधान गर्न नसक्ने भए हात उठाउन चेतावनी दिए ।
कोहलपुर वितरण केन्द्रका प्रमुख रमेश अवस्थीले हावाहुरी र वर्षाका कारण फिडरहरूमा समस्या आउँदा आपूर्तिमा अवरोध भएको बताए । मधेस प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले पनि गर्मी बढेसँगै लोड बढी भएर केही स्थानमा ट्रिपिङ भएको जानकारी दिए ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले देशमा विद्युत् उत्पादन र आपूर्तिको अभाव नभएको तर मौसम प्रतिकूल हुँदा सुरक्षाका कारण बत्ती निभाउनुपर्ने बाध्यता रहेको बताए । उनले गर्मीका कारण प्रणाली ओभरलोड हुने र प्राविधिक फल्ट आउँदा सिस्टम कोल्याप्स हुने गरेको स्पष्ट पारे ।
हाल नेपालको विद्युत् जडित क्षमता ४ हजार २ सय मेगावाट नाघेको छ भने उच्च खपत हुने समयको माग २ हजार २ सय देखि २ हजार ३ सय मेगावाट मात्र छ । नेपालले अहिले रातको समयमा ६ सय ५० मेगावाटभन्दा बढी बिजुली भारत निर्यात समेत गरिरहेको छ ।
पर्याप्त उत्पादन भए पनि ४ सय केभी क्षमता चाहिने स्थानमा १ सय ३२ देखि २ सय २० केभीका लाइन मात्र हुँदा ओभरलोडको समस्या देखिएको छ । ट्रान्सफर्मरमा आउने खराबी र कमजोर प्रसारण लाइनका कारण समग्र राष्ट्रिय प्रणालीमै असर पुगेको प्राधिकरणको स्वीकारोक्ति छ ।









प्रतिक्रिया