
विश्वकप फुटबल २०२६ मा सहभागी राष्ट्रहरूमध्ये केप भर्डे क्षेत्रफल र जनसङ्ख्याका हिसाबले दोस्रो सानो देश हुन सक्छ, तर उसले प्रतियोगितामा निकै ठुलो प्रभाव छाडेको छ। लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, अर्लिङ हालान्ड र ह्यारी केनजस्ता स्थापित खेलाडीहरूलाई छायामा पार्दै यसपटक पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डे सबैको केन्द्रविन्दु बन्यो।
समूह चरणको पहिलो खेलमा युरोपेली च्याम्पियन स्पेनलाई शून्य–शून्यको बराबरीमा रोक्दै केप भर्डेले विश्वकप इतिहासमा आफ्नो पहिलो अङ्क जोडेको थियो। सो खेलमा गोलकिपर वोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको सङ्कट टारेका थिए।
उरुग्वेविरुद्ध ऐतिहासिक पहिलो गोल गर्दै रोमाञ्चक प्रदर्शन गरेको केप भर्डेले शुक्रबार राति मियामीमा भएको अन्तिम ३२ को खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई बलियो टक्कर दियो। निर्धारित समयको खेल बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा केप भर्डे ३–२ गोल अन्तरले स्तब्ध बन्दै प्रतियोगिताबाट बाहिरियो।
खेलमा मेस्सीको गोलमार्फत अर्जेन्टिनाले सुरुवाती अग्रता लिए पनि केप भर्डेले पुनरागमन गर्दै खेललाई १–१ को बराबरीमा ल्याएको थियो। अतिरिक्त समयमा पुनः पछि परेको अवस्थामा सिड्नी लोपेस काब्रालले उत्कृष्ट गोल गर्दै खेल २–२ को स्थितिमा पुर्याए पनि अन्ततः क्रिस्टियन रोमेरोको प्रहार डिने बोर्गेसलाई लाग्दै आत्मघाती गोल भएपछि अर्जेन्टिना भाग्यमानी ठहरियो।
केप भर्डेको यो साहसी प्रदर्शनको विश्वभरका पूर्व फुटबलर र विज्ञहरूले प्रशंसा गरेका छन्। बीबीसी रेडियो ५ लाइभमा बोल्दै स्कटल्यान्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी जेम्स म्याकफाडेनले केप भर्डे खेलमा हारे पनि सबैको मन जित्न सफल भएको बताए।
त्यस्तै इङ्गल्यान्डका पूर्व राइट ब्याक ग्यारी नेभिलले आइसिटिभीसँग कुरा गर्दै आफूले अहिलेसम्म देखेका कमजोर टोलीहरूमध्ये केप भर्डेले उत्कृष्ट प्रदर्शन गरेको टिप्पणी गरे। विश्व वरीयतामा ६७ औँ स्थानमा रहेको केप भर्डे प्रतियोगिताबाट बाहिरिँदा खेलाडीहरू मैदानमै रोएका थिए, जसले उनीहरूको जित्ने तीव्र इच्छा र भोकलाई प्रस्ट पार्छ।
विश्वकप २०२6 मा साविक विजेता अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा धकेल्न मात्र १० मिनेट बाँकी रहँदा पराजित भए पनि केप भर्डेका मुख्य प्रशिक्षक बुबिस्टा आफ्नो टोलीको प्रदर्शनप्रति निकै गर्व गर्छन्। आफूहरू सानो देश भए पनि विश्वका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रमाणित गरेको उनले बताए।
केप भर्डेका सबै चार खेलमा सहभागी भएका स्यामरक रोभर्सका सेन्टर ब्याक रोबर्टो ‘पिको’ लोपेसले यस विश्वकपको सबैभन्दा ठुलो उपलब्धि नै अब आफ्नो देशलाई विश्वले चिनेको बताए। आफूहरू सानो राष्ट्र भए पनि ठुलो छाती र दृढ विश्वासका साथ मैदान उत्रिएकाले इतिहास रच्न सफल भएको उनको भनाइ छ।
इङ्गल्यान्डका पूर्व स्ट्राइकर इयान राइटले साना राष्ट्रहरूलाई अवसर दिँदा विश्वकपको सबैभन्दा ठुलो मञ्चमा विश्व च्याम्पियनसँग पनि भिड्न सक्छन् भन्ने यो उत्कृष्ट उदाहरण भएको बताए। फिफाले पाउने कोष सबै क्षेत्रमा न्यायोचित वितरण हुनुपर्नेमा जोड दिँदै उनले केप भर्डेको प्रदर्शनलाई भगीरथ प्रयासको सङ्ज्ञा दिए।
स्पेनविरुद्धको खेलमा टोलीलाई बराबरी दिलाएपछि आँसु बगाउँदै देशको झन्डा फहराएका ४० वर्षका गोलकिपर वोजिन्हा यतिबेला विश्वभर चर्चित बनेका छन्। पोर्चुगिज दोस्रो डिभिजनको क्लब चाभेससँगको सम्झौता सकिएपछि हाल क्लबविहीन रहेका उनले यो विश्वकपमा सानदार प्रदर्शन गरे।
ग्यारी नेभिलले वोजिन्हाको शान्त र संयमित प्रदर्शनको प्रशंसा गर्दै उनले अब चाँडै नै राम्रो क्लब पाउने दाबी गरे। अर्जेन्टिना विरुद्धको खेलमा ८ वटा उत्कृष्ट बचाउ गरेका वोजिन्हाले यस विश्वकपमा कुल १८ वटा प्रहार रोक्दै धेरै बचाउ गर्ने गोलकिपरको सूचीमा तेस्रो स्थान बनाएका छन्।









प्रतिक्रिया