एल निनो तीव्र रूपमा बलियो हुँदै, विश्वभर खडेरी, भारी वर्षा र चरम गर्मीको चेतावनी

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले एल निनो आगामी केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। यसका कारण विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने सङ्गठनले जनाएको छ।

सङ्गठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ। डब्लुएमओको मासिक विश्व मौसमी जलवायु अद्यावधिकअनुसार एल निनो अवस्था जुलाईदेखि सेप्टेम्बरसम्म ‘बलियो’ स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ।

Advertisement

एल निनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम असामान्य रूपमा बढ्दा उत्पन्न हुने प्राकृतिक जलवायु प्रणाली हो। यसपटक प्रमुख अनुगमन क्षेत्रहरूमा समुद्री सतहको तापक्रम औसतभन्दा दुई डिग्री सेल्सियसभन्दा बढी रहने अपेक्षा गरिएको छ।

यो घटना सामान्यतया दुईदेखि सात वर्षको अन्तरालमा देखापर्छ र करिब नौदेखि १२ महिनासम्म सक्रिय रहन्छ। यसको विपरीत अवस्था ‘ला निना’ हो भने यी दुईबीच तटस्थ अवस्था पनि रहने गर्छ।

सङ्गठनका अनुसार एल निनो उत्तरी गोलार्धको शरद ऋतुमा अझ बलियो हुँदै जानेछ र यसको प्रभाव विश्वका धेरै भागमा फैलिनेछ। पछिल्लो एल निनोले सन् २०२३ र २०२४ लाई इतिहासकै सबैभन्दा तातो वर्ष बनाउन महत्त्वपूर्ण योगदान दिएको थियो।

डब्लुएमओका महासचिव सेलेस्टे साउलोले एल निनोको तीव्रतासँगै धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, स्थल तथा समुद्री गर्मीको लहरको जोखिम बढ्ने बताए। उनले कृषि र स्वास्थ्य क्षेत्रमा जनधनको क्षति घटाउन समयमै सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए।

नयाँ अद्यावधिकले ध्रुवीय क्षेत्रबाहेक अधिकांश जनबसोबास भएका भूभागमा औसतभन्दा बढी तापक्रम रहने सम्भावना देखाएको छ। जुलाईदेखि सेप्टेम्बरसम्म भारतीय उपमहाद्वीप र अस्ट्रेलियाका धेरै भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ।

डब्लुएमओले जलवायु परिवर्तनका कारण एल निनोको तीव्रता बढेको ठोस प्रमाण नरहेको स्पष्ट पारेको छ। यद्यपि तातो समुद्र र वातावरणका कारण गर्मीको लहर, भारी वर्षा तथा अन्य चरम मौसमीय घटनाको प्रभाव भने अझ गम्भीर बन्न सक्ने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री