निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ गरेको छ। कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार पक्राउ लगत्तै उनलाई स्वास्थ्य परीक्षण गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ।

Advertisement

निर्मला पन्त बलात्कार र हत्या प्रकरणका विषयमा तथ्यहीन समाचार लेखेर आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टका छोरा एवं राससमा कार्यरत पत्रकार किरण विष्टले भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए। भण्डारीले आफ्नो सम्पादकत्वमा रहेको ‘मानसखण्ड दैनिक’ र सामाजिक सञ्जालमा विष्टका विरुद्ध सामग्रीहरू सम्प्रेषण गरेका थिए।

यस मुद्दामा जिल्ला र उच्च अदालत दुवैले उनलाई दोषी ठहर गरिसकेका छन्। जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते उनलाई १ महिना कैद, १० हजार जरिवाना र १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। सोही फैसलालाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले २०८२ चैत २२ गते सदर गर्दै थप ७ दिन कैद र २ हजार १ सय रुपैयाँ जरिवाना सुनाएको थियो।

गएको २०७५ साउन १० गते भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। उखुबारीमा मृत फेला परेकी पन्तको हत्यारा अहिलेसम्म पहिचान हुन नसकेको अवस्थामा सोही प्रकरणमा विभिन्न व्यक्तिहरूलाई जोडेर समाचार लेखेका कारण भण्डारी विवादमा पर्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री