विश्वकप फुटबल नि:शुल्क हेर्ने लोभमा ठगीदैँ नेपाली, २ करोड २९ लाखभन्दा बढी स्वाहा

अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा भइरहेको फिफा विश्वकप २०२६ लाइभ हेर्ने नाममा सामाजिक सञ्जालमार्फत नेपालीहरू ठगीएका छन् ।

Advertisement

फुटबलको नाममा एउटा गिरोहले ठगी धन्दा सञ्चालन गरेको भेटिएपछि प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । काठमाडौँमा रोजगारी गर्ने पोर्चुगल फुटबल टोलीका २५ वर्षीय एक फ्यान यसको सिकार बनेका छन् ।

उनले सामाजिक सञ्जालमा ‘नेपालको अल इन वान टिभी एप (जिजी टिभी)’ को विज्ञापन देखेका थिए । उक्त विज्ञापनमा सबै च्यानल प्रत्यक्ष हेर्न सकिने र मोबाइल, ट्याबलेट तथा एन्ड्रोइडमा चल्ने उल्लेख थियो ।

उनले सो विज्ञापन डाउनलोड गर्दा एप डेभलपरबाट बैंक खाता सम्पत्ति शुद्धीकरणको इस्युमा लक भएको र पासवर्ड राखेर रिस्क हटाउन म्यासेज आयो । पीडितले पासवर्ड राखेको केही समयमै उनको खाताबाट २३ हजार रुपैयाँ अपरिचितको खातामा ट्रान्सफर भयो ।

भोटाहिटीस्थित साइबर ब्युरोमा जेठ महिनायता फुटबल हेर्ने नाममा ठगिएका १ सय १५ वटा उजुरी आइसकेका छन् । ब्युरोका एसपी दिलीप गिरीले उजुरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको बताए ।

विद्युतीय माध्यमबाट खाता ह्याक गर्ने गिरोहले विश्वकप निःशुल्क हेर्न पाइने प्रलोभन देखाएर ठगी धन्दा चलाएको प्रहरीको निष्कर्ष छ । पीडितहरूलाई फिसिङ गर्न उनीहरूले ‘एपिके फाइल’ लाई माध्यम बनाउने गरेका छन् ।

विश्वकप हेर्न निश्चित रकम तिर्नुपर्ने भए पनि निःशुल्क हेर्न खोज्दा सर्वसाधारण ठगिने गरेको एसपी गिरीले बताए । ह्याकरहरूले फर्जी लिङ्क खोल्न लगाएर एक्सेस लिँदै एउटा कोड राख्न लगाउने र बैंकको रकम रित्याउने गरेका छन् ।

ब्युरोले अनुसन्धान गरिरहे पनि आरोपीहरू हालसम्म पक्राउ पर्न सकेका छैनन् । अहिलेसम्म त्यस्ता लिङ्क खोल्दा २ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी भइसकेको छ ।

गिरोहले एउटै व्यक्तिको खाताबाट २३ हजारदेखि २५ लाख रुपैयाँसम्म चोरी गरेको पाइएको छ । अनलाइन लिङ्कको पछाडि डट इएक्सई र डट ब्याट जस्ता फाइल जोडिएका लिङ्क क्लिक नगर्न ब्युरोका एसपी गिरीले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री