ऐतिहासिक यात्रामा दक्षिण अफ्रिका: २०१० को पीडा भुल्दै पहिलो पटक नकआउटमा

दक्षिण अफ्रिकाले पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेर नयाँ इतिहास रचेको छ। देशले सन् २०१० मा नै विश्वकप आयोजना गरिसकेकाले यो सफलता अझ अगाडि नै मिल्नुपर्ने थियो। १६ वर्षअघि मेक्सिको विरुद्धको उद्घाटन खेलमा सिफिवे छाबालालाले गोल गर्दा टेलिभिजन कमेन्टेटरले त्यसलाई ‘सम्पूर्ण अफ्रिकाकै गोल’ भनी प्रशंसा गरेका थिए। तर त्यो खुसी धेरै समय टिक्न सकेन र फ्रान्सलाई हराए पनि दक्षिण अफ्रिका गोल अन्तरका आधारमा समूह चरणबाटै बाहिरियो। विश्वकप आयोजना गरेर पनि समूह चरण पार गर्न नसक्ने पहिलो देश बन्दै दक्षिण अफ्रिकाले एउटा सुनौलो अवसर गुमाएको थियो।

Advertisement

अफ्रिका महादेशमै पहिलो पटक आयोजना भएको उक्त विश्वकपछि घरेलु फुटबलको क्रेज केही सुस्ताएको खेल पत्रकार मार्क ग्लिसनले बताएका छन्। आर्थिक मन्दी र प्रायोजकहरूको अभावका कारण दक्षिण अफ्रिकी फुटबलले लामो समय संघर्ष गर्नुपरिसकेको छ। यसै बीचमा टोलीले सन् २०१२, २०१७ र २०२१ को अफ्रिका कप अफ नेशन्स (अफ्कोन) समेत गुमाउनु परेको थियो। तर पछिल्ला वर्षहरूमा मामेलोडी सनडाउन्स क्लबले अन्तर्राष्ट्रिय उपाधि जितेपछि र राष्ट्रिय टोली विश्वकपमा छनोट भएपछि घरेलु फुटबलमा नयाँ ऊर्जा थपिएको छ।

प्रशिक्षक ब्रुसले जगाए नयाँ विश्वास

सन् २०२१ को अफ्कोनमा छनोट हुन नसकेपछि दक्षिण अफ्रिकाले मुख्य प्रशिक्षकका रूपमा ७४ वर्षका ह्युगो ब्रुसलाई भित्र्याएको थियो। बेल्जियमका पूर्व डिफेन्डर ब्रुसले टोलीमा युवा खेलाडीहरूलाई समावेश गर्दै नयाँ रूप दिए। उनको रणनीतिमा दक्षिण अफ्रिकाले अफ्कोन २०२३ मा तेस्रो स्थान हासिल गर्‍यो र नाइजेरियालाई पछि पार्दै सन् २०२६ को विश्वकपमा स्थान सुरक्षित गर्‍यो।

जारी विश्वकपको पहिलो खेलमा मेक्सिकोसँग २-० ले पराजित हुँदा ब्रुसको रक्षात्मक रणनीतिको आलोचना भएको थियो। तर त्यसपछिका खेलहरूमा चेक गणतन्त्रसँग बराबरी र दक्षिण कोरियालाई पराजित गर्दै टोलीले अन्तिम ३२ मा स्थान पक्का गरेपछि प्रशिक्षकले आलोचकहरूलाई शान्त पारिदिएका छन्। टोलीका कप्तान तथा गोलकिपर रोनवेन विलियम्स र पूर्व कप्तान डिन फुरमानले प्रशिक्षक ब्रुसको प्रसंशा गर्दै उनले टोलीमा एउटा अद्भुत विश्वास जगाएको बताएका छन्।

महादेशले गर्व गर्न लायक टोली

दक्षिण अफ्रिका यसअघि सन् १९९८ र २००२ मा समूह चरणबाटै बाहिरिएको थियो। अहिले देश भित्र विभिन्न सामाजिक र राजनीतिक अशान्ति चलिरहेको समयमा टोलीले यो ऐतिहासिक सफलता हात पारेको हो। आन्तरिक विवादका कारण केही अफ्रिकी समर्थकहरूले सुरुमा दक्षिण अफ्रिकाको हारको कामना गरे पनि कप्तान विलियम्स र पूर्व खेलाडी फुरमानले फुटबल मैदानमार्फत सम्पूर्ण अफ्रिका महादेशलाई नै गर्व गर्ने ठाउँ दिएको बताएका छन्।

टोलीलाई यहाँसम्म पुर्‍याउन कप्तान विलियम्सले उत्कृष्ट नेतृत्वदायी भूमिका निभाएका छन्। यस विश्वकप टोलीमा घरेलु लिग खेल्ने खेलाडीहरूको बाहुल्यता रहेको छ, जसमध्ये १६ जना खेलाडीहरू मामेलोडी सनडाउन्स र ओर्लान्डो पाइरेट्स क्लबका रहेका छन्। यस प्रदर्शनले दक्षिण अफ्रिकी खेलाडीहरूका लागि युरोपका शीर्ष लिगहरूमा पुग्ने बाटो खुल्ने अनुमान गरिएको छ।

अर्को चरणमा पुग्ने सुवर्ण अवसर

अन्तिम ३२ को खेलमा दक्षिण अफ्रिकाले पहिलो पटक नकआउट चरणमा पुगेको क्यानाडाको सामना गर्दैछ। लस एन्जलस स्टेडियममा हुने यो खेल यी दुई टोलीबीचको पहिलो भिडन्त हुनेछ। क्यानाडा आफ्नो अन्तिम समूह चरणको खेलमा स्विट्जरल्याण्डसँग पराजित हुँदै सह-आयोजकका रूपमा घरेलु मैदानको फाइदा लिनबाट चुकेको छ।

यस खेलमा दक्षिण अफ्रिका ऐतिहासिक जित निकाल्दै अन्तिम १६ मा पुग्न सक्ने बलियो सम्भावना रहेको खेल विश्लेषकहरूले बताएका छन्। प्रशिक्षक ब्रुसले यस विश्वकपछि सन्यास लिन सक्ने भएकाले पनि खेलाडीहरू आफ्ना प्रशिक्षकका लागि यो खेल अझ बढी ऐतिहासिक बनाउन मैदानमा कडा संघर्ष गर्ने तयारीमा रहेका छन्।बीबीसी

प्रतिक्रिया

सम्बन्धित सामाग्री