
विपक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रास्वपाको यो कदम जनताप्रतिको धोका र बेइमानी भएको बताए ।
निर्वाचनमा जाँदा मधेस, सुदूरपश्चिम र कर्णाली जस्ता पिछडिएका क्षेत्रमा प्रदेश तथा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने आश्वासन दिएर मत मागेको रास्वपाले अहिले तिनै संरचना खारेज गर्ने नीति लिनु गलत भएको उनको भनाइ छ । प्रमुख सचेतक दुलालले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध हुने जुनसुकै गतिविधिको आफूहरूले डटेर सामना गर्ने चेतावनी दिए ।
सुकुम्बासी बस्तीको प्रसङ्ग र रास्वपामाथि आरोप
निर्वाचनका बेला उचित व्यवस्थापन बिना सुकुम्बासी बस्ती नहटाउने भन्दै बाघ जस्तै गर्जने रास्वपाका नेताहरू सरकारमा पुगेपछि डोजर चलाउँदा स्याल जस्तै भएको भन्दै उनले ब्यङ्ग्य गरे । निर्वाचन अघि जनतासँग एउटा वाचा गर्ने र मत पाएपछि अर्कै व्यवहार गर्ने प्रवृत्तिको उनले आलोचना गरे ।
जनतालाई ढाँट्ने र छल्ने राजनीति धेरै समय नटिक्ने उल्लेख गर्दै उनले सरकार र सत्तारुढ दललाई जिम्मेवार बन्न आग्रह गरे । रास्वपाको पछिल्लो नीतिले जनताको मतको अपमान गरेको र यसले मुलुकको संघीय व्यवस्थामाथि नै प्रहार गर्न खोजेको आरोप प्रमुख सचेतक दुलालले लगाए ।









प्रतिक्रिया