
नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा क्यान्सरका बिरामीको सङ्ख्या करिब दोब्बरले वृद्धि भएको छ। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाबाट उपचार खर्च लिने बिरामीको तथ्याङ्कले यस्तो डरलाग्दो चित्र देखाएको हो।
महाशाखाका निर्देशक हिरादेवी निरौलाले क्यान्सरको जनचेतना कमीका कारण बिरामीको सङ्ख्या बढेको बताए। उनले यो रोगबाट नागरिकलाई बचाउन सरकार र नागरिक समाज दुवैले सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
आर्थिक वर्ष २०७७/७८ मा १५ हजार १८७ जना क्यान्सरका बिरामी रहेकामा आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या बढेर २८ हजार ६७८ पुगेको छ। बीचका वर्षहरू २०७८/७९ मा १९ हजार ३१, २०७९/८० मा १६ हजार ६९६ र २०८०/८१ मा २२ हजार १५३ जनाले उपचार खर्च लिएका थिए।
महाशाखाले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पीडितका लागि १ लाख रुपैयाँसम्मको औषधि उपचारको व्यवस्था गर्दै आइरहेको छ। यसैगरी विभिन्न प्रदेश सरकारले पनि क्यान्सरका बिरामीलाई थप १ लाख रुपैयाँसम्मको उपचार सहायता प्रदान गर्दै आएका छन्।
शरीरको कोष तथा कोषिकाको समूहको अस्वाभिक वृद्धिका कारण ट्युमर वा गिर्खा बन्ने प्रक्रिया नै क्यान्सर रोग हो। नेपालमा पुरुषहरूमा विशेषगरी फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको महाशाखाले जनाएको छ।
महिलाहरूको हकमा भने पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख रूपमा रैथाने बनेको छ। समग्र रूपमा हेर्दा नेपालमा सबैभन्दा बढी फोक्सो र त्यसपछि महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको प्रकोप छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले मद्यपान, सुर्तीजन्य पदार्थ, खराब जीवनशैली र मोटोपन नै क्यान्सरको मुख्य कारण भएको बताए। हाम्रो रैथाने खानपान छाडेर फास्टफुड, जङ्कफुड, पोलेका र बासी खानेकुरा खाँदा तथा व्यायाम नगर्दा जोखिम बढेको उनको भनाइ छ।
सरकारले यस रोगको नियन्त्रणका लागि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप निःशुल्क लगाउँदै आएको छ। सरकारी तहबाटै भक्तपुर क्यान्सर अस्पताल, चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा छन्।









प्रतिक्रिया