इन्धनको मूल्यवृद्धि र निःशुल्क भोजन योजनाको विरोधमा इन्डोनेसियामा प्रदर्शन, दर्जनौँ पक्राउ

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोको नीतिका विरुद्ध शुक्रबार भएको प्रदर्शनमा संलग्न दर्जनौं प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । देशको दोस्रो ठूलो शहर सुराबायामा आयोजना गरिएको र्यालीका क्रममा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको अधिकार समूह कन्ट्रास सुराबायाले शनिबार जानकारी दिएको छ ।

Advertisement

सुराबायाको सरकारी भवन नजिकै इन्धनको मूल्यवृद्धि र राष्ट्रपतिको निःशुल्क भोजन योजनाको विरोधमा करिब १ सय जना भेला भएका थिए । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गर्नुका साथै सरकारी संरचनामा आगलागी गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरी उनीहरूलाई पक्राउ गरिएको सुराबाया प्रहरी प्रमुख लुथफी सुलिस्टियावानले बताए ।

मध्यपूर्व युद्धका कारण विश्वव्यापी तेल आपूर्तिमा समस्या आएपछि प्रबोवो प्रशासनले पेट्रोलको मूल्य करिब ३० प्रतिशतले बढाएको छ । यही निर्णयको विरोधमा यस महिना इन्डोनेसियाका धेरै सहरहरूमा लगातार प्रदर्शन भइरहेका छन् ।

इन्धनको मूल्यवृद्धि फिर्ता लिन र अर्बौं डलरको निःशुल्क भोजन योजना रोक्न माग गर्दै राजधानी जकार्तामा पनि हजारौं विद्यार्थी सडकमा उत्रिएका छन् । राष्ट्रपतिको मुख्य राजनीतिक एजेन्डा मानिएको यो भोजन योजना उपयोगी नभएको र सामूहिक खाद्य विषाक्ततासँग जोडिएकाले व्यापक आलोचना भएपछि हाल यसलाई आंशिक रूपमा स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री