
उत्तर कोरियाली नेता किम जोङ उनले देशको सैन्य क्षमतालाई अझ आक्रामक र विनाशकारी बनाउने आह्वान गरेका छन्। उता दक्षिण कोरियाले पनि उत्तरबाट बढ्दो सुरक्षा चुनौतीको सामना गर्न आफ्नो ड्रोन युद्ध क्षमता व्यापक रूपमा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। यससँगै कोरियाली प्रायद्वीपमा सैन्य तनाव थप चर्किने सङ्केत देखिएको छ।
राज्य सञ्चारमाध्यम केसीएनएका अनुसार किमले बिहीबार विभिन्न हतियार परीक्षणको अवलोकन गर्दै सेनाको ‘घातक र विनाशकारी आक्रामक क्षमता’ सुदृढ बनाउन निर्देशन दिएका हुन्। उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकासँग वार्तामा फर्किन अस्वीकार गर्दै आणविक तथा परम्परागत सैन्य शक्ति विस्तारलाई प्राथमिकता दिइरहेको समयमा यो सन्देश आएको हो।
किमले अवलोकन गरेको परीक्षणमा रणनीतिक ब्यालेस्टिक क्षेप्यास्त्रका लागि विशेष वारहेड, उन्नत बहु–रकेट प्रक्षेपण प्रणाली तथा स्वचालित होवित्जरका लामो दूरीका गोलाहरूको प्रहार क्षमता परीक्षण गरिएको छ। यो परीक्षणले दक्षिणी सीमावर्ती क्षेत्रमा उत्तर कोरियाको आक्रमण क्षमता बढेको देखाएको दाबी गरिएको छ। शत्रु पक्षलाई निरन्तर भय र असुरक्षाको अवस्थामा राख्नु युद्ध रोकथामको महत्त्वपूर्ण उपाय भएको धारणा किमले व्यक्त गरेका छन्।
परीक्षण गरिएको विशेष वारहेड शत्रुको हवाई क्षेत्र, बन्दरगाह तथा ऊर्जा पूर्वाधारजस्ता महत्त्वपूर्ण संरचनालाई लक्षित गरी ठूलो क्षति पुर्याउन सक्षम रहेको बताइएको छ। यसै साता उत्तर कोरियाले ५ हजार टन क्षमताको नयाँ विध्वंसक युद्धपोतलाई समेत औपचारिक रूपमा सेवामा समावेश गरेको छ।
यसैबीच दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाबाट बढ्दो सैन्य चुनौती र रुसबाट प्राप्त प्रविधि सहयोगलाई ध्यानमा राख्दै आफ्नो ड्रोन क्षमता विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत लामो दूरीका विस्फोटक ड्रोन विकास गर्ने तथा २० हजारभन्दा बढी कम लागतका निगरानी र आक्रमण ड्रोन खरिद गर्ने लक्ष्य छ। आधुनिक युद्धमा कम लागतका ड्रोन र लोयटरिङ हतियारको महत्त्व तीव्र रूपमा बढिरहेकाले यस्तो रणनीति लिइएको हो।
रक्षामन्त्री आहन ग्यु–ब्याकले उत्तर कोरियाले रुसबाट प्रविधि हस्तान्तरण प्राप्त गरिरहेको भन्दै बदलिँदो युद्ध प्रवृत्तिअनुसार सक्रिय रूपमा प्रतिक्रिया दिन आवश्यक रहेको बताएका छन्। दक्षिण कोरियाली सेनाले भविष्यमा सेना, नौसेना, वायुसेना र मरीन फौजमा गरी ५ लाख सैनिकलाई व्यक्तिगत हतियारसरह ड्रोन सञ्चालन गर्न सक्षम बनाउनेछ।
सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको उच्चस्तरीय वार्ता असफल भएपछि उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई तीव्रता दिएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले पटक–पटक वार्ताको प्रस्ताव गरे पनि किमले उत्तर कोरियाको आणविक निशस्त्रीकरणलाई पूर्वसर्त बनाउने नीति त्यागिएमा मात्र वार्ता सम्भव हुने सङ्केत गरेका छन्।
पछिल्ला वर्षहरूमा किमले युक्रेन युद्धमा रुसलाई समर्थन गर्दै मस्कोसँग सम्बन्ध विस्तार गरेका छन्। यसै महिनाको प्रारम्भमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ७ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्दै किमसँग भेटवार्ता गरेका थिए।









प्रतिक्रिया