
काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार पछिल्लो तीन महिनायता ११ जिल्लाका ८२ स्थानमा यो रोगको सङ्क्रमण पुष्टि भइसकेको छ ।
गत वर्षको चैत ४ गते मोरङमा पहिलोपटक देखिएको सङ्क्रमण हाल झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म पुगेको छ । रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउँदै प्राविधिक टोली परिचालन गरिएको छ ।
५ लाखभन्दा बढी पक्षी नष्ट
सङ्क्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८ सय ५८ वटा पक्षी नष्ट गरिएको छ । पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालले ९ लाख ८९ हजार ३ सय १३ वटा अण्डा र १ हजार ९ सय ५४ दशमलव ८५ क्विन्टल दानासमेत नष्ट गरिएको बताए ।
विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी तीनै तहका सरकारसँग समन्वय गरिरहेको छ । कोशी प्रदेशका तीन जिल्लासहित बारा, महोत्तरी, चितवन र नवलपरासीमा सङ्क्रमण नियन्त्रणमा आइसकेको विभागले जनाएको छ ।
उपत्यकामा विशेष निगरानी र जिन अनुक्रमण
काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा सङ्क्रमण अझै देखिइरहेकाले ती स्थानमा विशेष निगरानी बढाइएको छ । सङ्क्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन (म्युटेसन) भए/नभएको यकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा जिन अनुक्रमण प्रक्रिया सुरु गरिएको दाहालले बताए ।
विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न र पुराना अण्डाका क्रेट पुनःप्रयोग नगर्न आग्रह गरेको छ । ढुवानीका साधन निसङ्क्रमण गरेर मात्र प्रवेश गराउन, जङ्गली पन्छीको सम्पर्कबाट जोगाउन र अस्वाभाविक रूपमा पक्षी मरेमा तत्काल पशुसेवा कार्यालयमा जानकारी दिनसमेत अनुरोध गरिएको छ ।









प्रतिक्रिया