
‘नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत सूक्ष्म, साना तथा मझौला उद्यमलाई सशक्त बनाऔँ’ भन्ने नाराका साथ शनिबार विश्वभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिगो विकास, रोजगारी सिर्जना र समावेशी आर्थिक वृद्धिमा पुऱ्याएको योगदानबारे चेतना जगाउन संयुक्त राष्ट्रसङ्घले सन् २०१७ देखि हरेक वर्ष जुन २७ मा यो दिवस मनाउने निर्णय गरेको हो ।
विश्वका ९० प्रतिशतभन्दा बढी व्यवसाय सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) अन्तर्गत पर्ने संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । यस्ता व्यवसायले विश्वव्यापी रोजगारीको ६० देखि ७० प्रतिशत हिस्सा ओगट्नुका साथै विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब ५० प्रतिशत योगदान पुऱ्याएका छन् ।
अर्थतन्त्रको मेरुदण्ड र चुनौती
महिला, युवा, गरिब तथा जोखिममा रहेका समुदायका लागि रोजगारी र आयआर्जनको प्रमुख आधारका रूपमा यी उद्यमले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । पर्याप्त नीति, लगानी र प्रविधिगत सहयोग उपलब्ध गराउन सके यस क्षेत्रले आर्थिक रूपान्तरण र समतामूलक विकासलाई अझ तीव्र बनाउने राष्ट्रसङ्घले जनाएको छ ।
अधिकांश साना उद्यमले वित्तीय पहुँचको अभाव, कमजोर पूर्वाधार, सीमित बजार, अनौपचारिक व्यवसाय, सीप र प्रविधिको कमी तथा जटिल नियामकीय प्रक्रियाजस्ता चुनौती सामना गरिरहेका छन् । जलवायु परिवर्तन, भूराजनीतिक तनाव, आपूर्ति शृङ्खलामा अवरोध, उत्पादन लागतमा वृद्धि तथा डिजिटल रूपान्तरणको तीव्र गतिले उनीहरूलाई थप चुनौतीपूर्ण अवस्थामा पुऱ्याएको छ ।
नयाँ अवसर र भावी बाटो
चुनौतीका बीच डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, हरित नवप्रवर्तन तथा दिगो औद्योगिकीकरणले उत्पादनशीलता वृद्धि र नयाँ बजारमा पहुँचका लागि नयाँ अवसर पनि सिर्जना गरेका छन् । यी अवसरबाट लाभ लिन लक्षित लगानी, सहायक नीतिगत व्यवस्था, सुलभ वित्तीय पहुँच तथा सरकारी र निजी क्षेत्रबीचको सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ ।
व्यवसाय दर्ता प्रक्रिया सरल बनाउने, सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्ने, सीप विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीतिले यो क्षेत्रलाई थप सक्षम बनाउने देखिन्छ । यस्ता उद्यमको सशक्तीकरणले समावेशी आर्थिक वृद्धि, रोजगारी विस्तार र दिगो विकास लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास राष्ट्रसङ्घले लिएको छ ।









प्रतिक्रिया