
फिफा विश्वकप फुटबल प्रतियोगिताका क्रममा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल हेर्न पुगेका हजारौँ समर्थकले फरक अनुभव बटुलेका छन्।
स्टेडियम नजिकै रहेको अमेरिकन ड्रीम मललाई विश्वकपका समर्थक लक्षित गरी विशेष फ्यान जोनका रूपमा सञ्चालन गरिएपछि खेलको माहोल मलतर्फ सरेको हो।
परम्परागत रूपमा सडक वा रङ्गशालामा मात्र सीमित हुने फुटबलको रौनक अमेरिकामा भने सपिङ मलमा सरेको छ। यो मलमा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति, खेल प्रसारण, मनोरञ्जनात्मक गतिविधि तथा खानपिनको विशेष व्यवस्था गरिएको छ।
ल्याटिन अमेरिकी र युरोपेली समर्थकलाई नयाँ अनुभव
इक्वेडरबाट आएका २९ वर्षीय समर्थक समीर रोड्रिगेजले यस्तो अनुभव आफ्ना लागि बिल्कुलै नयाँ भएको बताए। ल्याटिन अमेरिकामा फुटबल खेलअघि समर्थकहरू सडक वा रङ्गशालामै भेला हुने गरे पनि अमेरिकामा सपिङ मल नै जमघटस्थल बनेको उनले उल्लेख गरे।
जर्मनीका समर्थक माइकल कार्गले युरोपको फुटबल संस्कृतिभन्दा अमेरिकी अनुभव निकै फरक लागेको प्रतिक्रिया दिए। फुटबल रङ्गशालासँगै विशाल सपिङ मल र मनोरञ्जन केन्द्रको संयोजन आफ्ना लागि अनौठो र नयाँ भएको उनको भनाइ छ।
मनोरञ्जन उत्सवका रूपमा विश्वकप
अर्का जर्मन समर्थक जेन्स जेनुवेनले अमेरिकामा फुटबल प्रतियोगितालाई मनोरञ्जन, किनमेल र पारिवारिक गतिविधिसँग जोडिएको पाएको बताए। युरोपमा समर्थकहरू पब वा रङ्गशालामा केन्द्रित हुने भए पनि अमेरिकामा यसलाई फराकिलो मनोरञ्जन उत्सवका रूपमा प्रस्तुत गरिएको उनको बुझाइ छ।
करिब २ लाख ८० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको अमेरिकन ड्रीम मलमा वाटर पार्क, मनोरञ्जन केन्द्र, रेस्टुरेन्ट तथा अन्तरराष्ट्रिय ब्रान्डका पसल छन्। मलमा कोका–कोलाद्वारा आयोजित सुटिङ प्रतियोगिता, मिनी गल्फ र फेस पेन्टिङ जस्ता गतिविधिमा विभिन्न देशका समर्थकहरू राष्ट्रिय झण्डा बोकेर सहभागी भइरहेका छन्।रासस/एएफपी









प्रतिक्रिया