
भेनेजुएलामा एक शताब्दीभन्दा बढी समयपछिकै दुई ठूला विनाशकारी भूकम्पका कारण बिहीबार दिउँसोसम्म कम्तीमा १ सय ६४ जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ । बुधबार साँझ राजधानी काराकासको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर लगातार गएका ७ दशमलव २ र ७ दशमलव ५ म्याग्निच्युडका भूकम्पका कारण राजधानी र नजिकैका क्षेत्रमा व्यापक क्षति पुगेको हो । भूगर्भ सर्वेक्षण अधिकारीहरूका अनुसार यो सन् १९०० यताकै सबैभन्दा शक्तिशाली भूकम्प हो ।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले मृतकको सङ्ख्या पुष्टि गर्दै ९ सय ७० भन्दा बढी घाइते भएको बताए । भूकम्पका कारण राजधानीको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द छ । क्षतिको भयावह प्रकृति हेर्दा मृतक सङ्ख्या अहिलेको भन्दा निकै बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन् ।
भूकम्पपछि भत्किएका बहुतले अपार्टमेन्ट र व्यापारिक भवनका भग्नावशेषमुनि धेरै मानिस पुरिएका छन् । उपकरण र जनशक्तिको अभावका कारण उद्धार कार्य प्रभावित भएपछि स्थानीय बासिन्दाहरू आफ्नै क्षमतामा अँध्यारोमै हराएका आफन्तहरूको खोजीमा जुटेका छन् । यस्तो सङ्कटको घडीमा फ्रान्स, स्पेन, अमेरिका, चीन, भारत र ब्राजिल लगायतका देशहरूले तत्काल उद्धार टोली र मानवीय सहायता पठाउने घोषणा गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तत्काल खोज तथा उद्धार टोली, चिकित्सा सामग्री र मानवीय सहायता भेनेजुएला पठाउने तयारी भइसकेको बताए । फ्रान्सले ८५ जना उद्धारकर्मी र स्पेनले ५४ जना सैनिकको उद्धार तथा खोजी टोली पठाउने तयारी गरेका छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण विभागका अनुसार पहिलो ७ दशमलव २ म्याग्निच्युडको भूकम्प बुधबार साँझ १० बजेर ४ मिनेट जाँदा मोरोन तटीय सहरबाट २१ किलोमिटर पश्चिममा गएको थियो । त्यसको एक मिनेटभित्रै ४५ किलोमिटर टाढा ७ दशमलव ५ म्याग्निच्युडको दोस्रो शक्तिशाली धक्का महसुस गरिएको थियो । गृहमन्त्री डियोस्डाडो काबेल्लोले थप दुर्घटना रोक्न सुरक्षाका लागि धेरै भवनहरूमा ग्यास आपूर्ति बन्द गरिएको जानकारी दिए ।
भूकम्पका कारण काराकास नजिकै रहेको माइक्वेटिया अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधारमा गम्भीर क्षति पुगेकाले विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ । भूकम्पबाट ट्रुजिलो, काराबोबो, मिरान्डा र ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएका छन् भने यसको धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो । यसअघि भेनेजुएलामा सन् १९६७ को भूकम्पमा २ सय ३६ जना र सन् १९९७ को भूकम्पमा ७३ जनाको मृत्यु भएको इतिहास छ ।









प्रतिक्रिया