नकआउट चरणमा पुगेर पनि घरेलु मैदानको फाइदा गुमाएको क्यानडा दक्षिण अफ्रिकासँग लस एन्जलसमा भिड्ने

विश्वकपको समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग पराजित भएसँगै सह–आयोजक क्यानडाले अब आफ्नै देशमा खेल्ने अवसर गुमाएको छ । समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गर्न क्यानडालाई खेलमा हारबाट जोगिनु आवश्यक थियो ।

Advertisement

सुरुवाती खेलमा जित निकाल्न नसके पनि दोस्रो खेलमा कतारलाई ६–० ले हराएको क्यानडा अन्तिम खेलमा २–१ ले पराजित भयो । पराजयपछि समूहको दोस्रो स्थानमा चित्त बुझाएको क्यानडाले अब आगामी आइतबार लस एन्जलसमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

यदि क्यानडा समूह विजेता बनेको भए अन्तिम ३२ र अन्तिम १६ का खेलहरू भ्यानकुभरमै खेल्न पाउने समीकरण थियो । घरेलु दर्शकको बलियो साथ पाउने अवसर गुमे पनि प्रशिक्षक जेसे मार्सले यसलाई ठूलो अवसरका रूपमा लिएका छन् ।

क्यानडालाई पहिलोपटक विश्वकपको नकआउट चरणमा पुर्‍याएका पूर्व लिड्स बोस मार्सले भ्यानकुभरमै खेल्ने इच्छा अधुरो रहे पनि लस एन्जलसबाटै देशलाई खुसी दिने बताए । खेलाडी जोनाथन डेभिडले घरेलु दर्शकको साथ गुम्नु दुःखद भए पनि अब आगामी खेलका लागि तयार हुनुपर्ने धारणा राखे ।

चालू विश्वकपका तीनवटा नकआउट खेलहरू क्यानडामा आयोजना हुँदै छन्, जसमा भ्यानकुभर र टोरन्टोमा अन्तिम ३२ का खेलहरू र भ्यानकुभरमा अन्तिम १६ को एक खेल समावेश छ । समूह ‘डी’ को विजेता बनिसकेको अमेरिकाले आफ्ना बाँकी सबै खेलहरू आफ्नै भूमिमा खेल्ने तालिका छ ।

अर्को सह–आयोजक मेक्सिको पनि समूह ‘ए’ को विजेता बनेकाले अन्तिम ३२ र अघिल्लो चरण प्रवेश गरेमा अन्तिम १६ को खेल मेक्सिको सिटीमै खेल्न पाउनेछ । तर क्यानडाले भने समूहमा दोस्रो स्थानमा रहेका कारण नकआउट चरणका लागि अमेरिका यात्रा गर्नुपर्ने भएको छ ।

वानसकरका ब्रोडकास्टर क्रिस्टियन ज्याकले क्यानडा आफ्नो समूहको शीर्ष दुईभित्र परेपछि घरेलु मैदानमै खेल्न पाउने गरी फिफाले तालिका मिलाउन सक्ने दाबी गरे । सह–आयोजक देशमै अन्तिम ३२ का खेलहरू हुँदाहुँदै क्यानडालाई बाहिर पठाउनु फिफा र क्यानडा सकरको कमजोरी भएको उनले बताए ।

क्यानडा समूहमा दोस्रो भए पनि उसलाई भ्यानकुभर नभए टोरन्टोमा खेलाएर घरेलु मैदानको फाइदा दिलाउन सकिने विकल्प रहेको ज्याकको भनाइ छ । फिफाको यस्तो व्यवस्थापनका कारण क्यानडा पहिलोपटक नकआउटमा पुगेर पनि घरेलु दर्शकको साथ गुमाउनुपर्ने अवस्था आएको भन्दै उनले असन्तुष्टि जनाए ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित सामाग्री