यस्तो रहनेछ आजको मौसम

नेपालमा अहिले पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मनसुनी वायु सक्रिय छ भने देशका अन्य भू-भागमा पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ।

अहिले देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली भएको छ। मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्दा लुम्बिनी र कर्णालीको तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

पहाडमा वर्षा र हिमपातको आकलन

Advertisement

सोमबार देशका हिमाली र पहाडी क्षेत्रका साथै कोशीको तराई भू-भागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी र मधेस प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना देखिएको छ।

तराईमा अत्यधिक गर्मी र ‘लु’ को चेतावनी

पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित बन्ने देखिन्छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर अर्थात् ‘लु’ चल्ने सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही क्षेत्रमा पनि अत्यधिक गर्मी भई तातो दिन हुने महाशाखाले पूर्वानुमान गरेको छ। सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रमा भने सोमबार मौसम मुख्यतया सफा रहने छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री