बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारी तयारी: स्थलगत अनुगमन तीव्र

लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले सक्रियता बढाएको छ। सरकारी निकायहरूबाट उद्योगको स्थलगत अनुगमन सुरु भएसँगै उद्योग ब्युँतने आशा पलाएको हो।

हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भई २०३५ देखि सञ्चालनमा आएको यो उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। त्यसयता पटकपटक प्रयास भए पनि यस वर्ष सरकारले विशेष चासो देखाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडाका सूचना अधिकारी हिमालय भण्डारीले बताए।

धागो र कपास कारखाना पनि सञ्चालन हुने

Advertisement

कपडा उद्योगसँगै तत्कालीन समयमा बुटवलमा धागो कारखाना र बाँकेको नेपालगन्जमा कपास उत्पादन कारखाना सँगसँगै सञ्चालनमा ल्याइएको थियो। हेटौँडा कपडा उद्योग बन्द भएपछि यी दुई उद्योग पनि बन्द हुन पुगेको सूचना अधिकारी भण्डारीले जानकारी दिए।

उद्योगका मेसिन तथा उपकरणहरू सामान्य मर्मतपछि तत्कालै प्रयोग गर्न सकिने अवस्थामा रहेको बुझिएको छ। उद्योग पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्य अग्रसरता लिएको छ।

मन्त्री र जनप्रतिनिधिद्वारा स्थलगत निरीक्षण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत अनुगमन गरेकी छिन्। हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि उद्योगको निरीक्षण गरेको छ।

मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा यसै वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेकी थिइन्। रुग्ण उद्योगहरूमध्ये हेटौँडा कपडा उद्योगलाई पहिलो प्राथमिकतामा राखिएको उनले संसद्‌मा जानकारी दिएकी थिइन्।

सुरक्षा र सरसफाइको अवस्था

Advertisement

कपडा उद्योग बन्द भएपछि उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी बलको १४ नम्बर गण बस्दै आएको छ। सशस्त्र प्रहरी बस्नुअघि दुई जना मात्र कर्मचारी हुँदा यो क्षेत्र लागुऔषध दुव्र्यसनीहरूको अखडा बनेको थियो।

अहिले उद्योग सुरक्षित रहेको र सरकारी चासो बढेसँगै उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाइ समेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री